काठमाडौं । अन्नपूर्ण गाउँपालिका-७ दोसल्लेका अधिकांश परिवारको आमदानीको स्रोत अहिले सुन्तला खेती रहेको छ ।
केही वर्ष अघिसम्म गाउँमा कुनै प्रयाप्त आमदानीको स्रोत नभएपछि दोसल्लेका अधिकांश परिवार रोजगारीका लागि विदेश जानु बाध्यता थियो । तर अहिले गाउँ सुन्तला खेतीबाट नै आत्मनिर्भर बनेको छ ।
कूल ४२ घरधुरीको बसोबास रहेको दोसल्ले गाउँमा यस वर्ष सुन्तलाबाट एक करोड ६० लाख रुपैयाँ बढी भित्रिएको छ । पोखरा र काठमाडौंका व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गरेपछि अहिले धमाधम सुन्तला टिप्ने काम भइरहेको छ । अघिल्लो वर्ष गाउँबाट ८० लाख रुपैयाँको सुन्तला बिक्री भएकोमा यस वर्ष दोब्बरले आम्दानी बढेको गाउँका किसानहरुले बताएका छन् ।
२०६८ सालमा पोखराबाट माटो परीक्षण विभागबाट विज्ञ ल्याएर माटो परीक्षण गरी सुन्तला खेतीमा लागेका दोसल्लेवासीले हरेक वर्ष सुन्तला खेतीलाई विस्तार गर्दै लगेका छन् । परम्परागत रूपमा धान, मकै, कोदो, भटमास हुने खेतबारी सुन्तलाले ढाकिएको छ । नयाँ बोटलेसमेत फल दिन सुरू गरेकाले अबको केही वर्षमा यस गाउँमा सुन्तलाबाट वार्षिक तीन करोड बढी रकम भित्रिने स्थानीयवासीले अनुमान गरेका छन् ।
दोसल्लेका सबै घरमा सुन्तला खेती गरिएको छ । गाउँबाट बसाइँसराइ रोकिएको छ । पहिले बेनी, पोखरा लगायतका ठाउँमा बसाइँसराइ गरेकाले समेत गाउँमा फर्किएर बाँझिएको जग्गामा सुन्तलाको बोटबिरुवाहरु लगाइएको छ ।
विभिन्न पेसा, व्यवसायमा लागेकासमेत अहिले दोसल्लेमा सुन्तला खेतीमा लामबद्ध भएका छन् । खेतीयोग्य जमिन सबैमा सुन्तला रोप्ने अभियान चलेको दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहले जनाएको छ । दोसल्लेमा विगत करिब १३ वर्षदेखि सुन्तला खेती हुँदै आएको छ । सुन्तलाबाट राम्रो नगद आम्दानी हुन थालेपछि यहाँका किसान परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तला खेती विस्तारमा जुटेको स्थानीयहरुले उल्लेख गरेका छन् ।