काठमाडौं । अमेरिकी दूतावासले नेपाली चलचित्रलाई पछिल्लो समयमा चासोका साथ हेरिरहेको छ ।
अमेरिकी दूतावास नेपालका भिसा प्रमुख ग्रेगोरी डी. सिम्किसले नेपालमा बन्ने फिल्म,अवार्डको छनोट प्रक्रिया, विश्वसनियता र कलाकारहरूले प्राप्त गर्ने सिफारिसपत्रको आधिकारिकतामाथि उनले चासो राखेका हुन्। नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र सिम्किसबीच भएको औपचारिक छलफलमा नेपाली चलचित्रको वर्तमान अवस्था, नेपाल तथा अमेरिकामा आयोजना हुने चलचित्रका अवार्ड एवं सम्मान समारोह तथा चलचित्रकर्मीको अमेरिका भिसा सम्बन्धी विषयमा छलफल भएको बोर्डले जनाएको छ ।
बैठकमा अध्यक्ष डीसीले नेपाली चलचित्र उद्योगको अन्तर्राष्ट्रिय विस्तार तथा नेपाल अमेरिकाको सांस्कृतिक सम्वन्ध मजवुत पार्न नेपालका फिल्मकर्मीहरूले अमेरिकामा हुने चलचित्र महोत्सव, कार्यशाला तथा अन्य सांस्कृतिक कार्यक्रममा सहभागी हुन सहजता पाउनुपर्ने एवं नेपालमा पनि ठूलोस्तरमा अमेरिकी र नेपाली चलचित्रको विशेष कार्यक्रम गरिनुपर्ने बताएका छन् । बोर्डले क्यानसरपीडित कलाकार राजन थापालाई एक लाख रुपैयाँ उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
चार दशकदेखि नेपाली कलाकारितामा सक्रिय थापा एक वर्षदेखि आान्द्रामा क्यानसर भई आर्थिक अभाव झेल्दै आएका छन् । चलचित्रकर्मी कल्याणकोष सञ्चालन समितिको निर्णयअनुसार बोर्ड अध्यक्ष डिसीले चेक प्रदान गरेका छन् । भिसा प्रमुख सिम्किसले अमेरिकी दूतावास नेपाली चलचित्रकर्मीहरूको भिसा प्रक्रियालाई सहजीकरण गर्न सकारात्मक रहेको पनि बताएका छन् ।