काठमाडौं । भारत सरकारले शनिबार संसद्मा प्रस्तुत गरेको बजेटमा नेपाललाई ७ अर्ब भारु अनुदान सहयोग गर्ने भएको छ ।
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२५/२६ मा नेपाललाई ७ अर्ब भारु (सवा ११ अर्ब रुपैयाँ) अनुदान सहयोग गर्ने भएको छ,भने आर्थिक वर्ष २०२४/२५ मा पनि भारतले नेपालका लागि ७ अर्ब भारुको अनुदान बजेटमा विनियोजन गरेको थियो । वैदेशिक सहायता शीर्षकमा आगामी वर्ष भारतले विदेश मन्त्रालयका लागि छुट्याइएको कुल २० हजार ५ सय १६ करोड भारु बजेटमा ५ हजार ४ सय ८३ करोड वैदेशिक सहायताका लागि छुट्याइएको छ । वैदेशिक सहायता शीर्षकमा विगत जस्तै सबैभन्दा बढी भुटानलाई २ हजार १ सय ५० करोड भारु अनुदान दिएको छ,भने दोस्रो ठूलो धन राशि नेपालको लागि छुट्टाएको हो ।
त्यस्तै क्रमशःअफगानिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, म्यान्मार, मंगोलिया, मोरिसस, सेसेल्स, अफ्रिकन देश, इयुरेसिन र ल्याटिन अमेरिकन देशका लागि भारतले वैदेशिक सहायता अनुदान रकम छुट्याउँदै आएको छ । अर्थमन्त्री सीतारमणले आर्थिक वर्ष २०२५/२६ का लागि ५० लाख ६५ हजार करोड भारु व्यय अनुमानसहितको बजेट संसद्मा प्रस्तुत गरेकी हुन् । गतवर्षको तुलनामा ७.४ प्रतिशतले भारतको बजेट वृद्धि भएको छ । यातायात क्षेत्रको विकासमा सबैभन्दा बढी ५ लाख ४८ हजार ६ सय ४९ करोड बजेट राखिएको छ ।