साउदीमा ४ सय ५० जना मृतकका हकवालाको बिमा स्वीकृत

अर्थ/वाणिज्य देश/विदेश समाचार

काठमाडौं । साउदी अरबको कार्यस्थलमा करीब ७ सय नेपाली कामदार मध्ये ४ सय ५० जना मृतकको बिमा स्वीकृत भइसकेको दूतावासले जनाएको छ ।

कार्य स्थल दुर्घटनामा मृत्यु भएमा परिवारलाई जनरल अर्गनाइजेसन अफ सोसल इन्सुरेन्स (गोसी)ले सामाजिक सुरक्षा रकम ८४ महिना बराबरको तलब (३ लाख ३० हजार) साउदी रियल दिने गरेको छ । घाइते वा अंगभंग भएका घटना दर्ता छन् , भने गोसीबाट वायर ट्रान्फरमार्फत हकवालाको बैंक खातामा सिधै भुक्तानी दिने व्यवस्था रहेको छ । तर, नेपाली कामदार मृतकका हकवालाले सामाजिक सुरक्षा बिमा (गोसी) रकम वापतको रकम भने अझैँ पाउन बाँकी नै रहेको छ । पछिल्लो आठ महिनामा एक सय ६६ जना मृतकका हकवालाको खातामा गोसीबाट सिधै वायर ट्रान्सफर गरी करिब ४२ करोड रुपैयाँ पठाइएको दूतावासले जनाएको छ ।

दुई सय पाँच जना मृतकको कागजात गोसीमा पेस भई कार्य प्रक्रियामा रहेको, ६९ जनाको दुर्घटना स्वीकृत भएको र दुई सय ६१ (रियाद अन्तर्गतका एक सय १५ र जेद्दा अन्तर्गतका एक सय ४६) जनाका हकवालालाई गोसी प्राप्त हुने–नहुने सम्बन्धमा एकिन नभएको दूतावासले जनाएको छ ।

मृतकका हकवालासँग पुग्नको लागि साउदी अरबमा क्रियाशील गैरआवासीय नेपाली संघ, विभिन्न राजनीति पार्टीका भ्रातृ संगठन, सामाजिक, जातीय, क्षेत्रीय संघ–संस्था नागरिक समाज तथा मिडियाकर्मीहरू समेतको संलग्नतामा करिब एक सय चार सदस्य रहेको ह्वाटसएप ग्रुप निर्माण गरी सम्बन्धित हकवाला परिवारसँग पुग्ने काम भइरहेको समेत जानकारी गराइएको छ ।

साउदी अरबमा काम गर्ने अधिकांश नेपाली अदक्ष श्रमिक रहेको र उनीहरूको वेसिक तलब नै कम हुन्छ, भने अर्कोतर्फ रोजगारदाता कम्पनीले त्यही कम तलब पनि पूरै गोसी प्रणालीमा उल्लेख नगर्ने हुनाले मृतकका हकवालाले पाउने सुविधा अत्यन्त कम रहेकोले गोसी के हो, कसरी रकम जम्मा हुन्छ, कुन–कुन अवस्थामा कति सुविधा पाइन्छ, हकवाला को–को हुन् लगायतको विषयमा जानकारी लिन नेपाली राजदूतावासको फेसबुक पेज तथा वेबसाइट हेर्न र साउदी अरवका कार्यरत नेपाली श्रमिकलाई आफ्नो रोजगारदाता कम्पनीले न्यूनतम तलव बराबरको रकम गोसीमा उल्लेख गरे–नगरेकोबारे यथाशीघ्र जानकारी गराउन अनुरोध गरिएको दूतावासले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *