गभर्नर बन्न बैंक माफियाहरुको चलखेल सुरु, भावी गभर्नरको लागि कांग्रेस र एमालेबीच हानथाप

अर्थ/वाणिज्य राजनीति

काठमाडौं । केही वर्षयतादेखि नेपालमा आर्थिकमन्दी छाउँदै आएको छ । सरकार पनि विभिन्न दलको गठबन्धबाट अस्थिर बन्दै गयो । आर्थिकमन्दी छाएपछि देशको अर्थतन्त्र ठप्प जस्तै भएको छ । कांग्रेस र एमाले दुई ठूला दलको सरकार बनेपछि एमाले नेता विष्णु पौडेल अर्थमन्त्री बने । पौडेल अर्थमन्त्री बन्नासाथ सेयरको मूल्य आकासियो । त्योसँगै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र चलायमान बनाउन लचिलो मौद्रिक नीति सार्वजनिक गरेका थिए ।

त्यो मौद्रिक नीतिले पनि देशको अर्थतन्त्र चलायमान हुनुको सट्टा झन् अधोगतितिर उन्मुख भयो । अर्थमन्त्री पौडेल र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले पनि देशको अर्थतन्त्र चलायमान बनाउन सकेनन् । उल्टै देशले २५ खर्ब ३६ अर्ब ऋणको भारी बोकिरहेको अवस्थामा फेरि सरकारले १३ अर्ब ऋण थप्ने तरखर गरिरहेको छ । त्यसले गर्दा अर्थतन्त्र चलायमान बन्नुको सट्टा झन् ऋणको दलदलमा देश फस्दै जाने देखिन्छ । उता लगानी हुन नसकेर बैंकहरुमा पैसा थप्रिएर बसेको छ । बैंकमा बिनाकाम थुप्रिएको पैसा सरकारले सहुलियत ब्याजमा लिएर विकास निर्माण र उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सकेको छैन ।

राष्ट्र बैंकका गभर्नर अधिकारीको जागिरे अवधि पनि आगामी चैतको पहिला साता सकिँदैछ । भावी गभर्नर बन्नको लागि विभिन्न बैंक माफियाहरुको दौडधूप सुरु भएको छ । यतिबेला राष्ट्र बैंकको गभर्नर बन्न बैंक माफियाहरुले करोडौंको चलखेल सुरु गर्न थालेका छन् । राष्ट्र बैंकको गभर्नर कर्मचारी भित्रैबाट बनाइन्छ कि बाहिरबाट ल्याइन्छ भन्ने एकिन छैन ।

एमालेका अर्थमन्त्री भइरहँदा राष्ट्र बैंकको गभर्नर कांग्रेस र एमाले कसको भागमा पर्ने हो त्यो पनि निश्चित छैन । यता राष्ट्र बैंकको गभर्नर बन्नको लागि राष्ट्र बैंक बाहिरबाट प्रभु बैंकका सिईओ अशोक सेरचन, नविल बैंकका सिईओ ज्ञानेन्द्रसाद ढुंगाना, लगानी बोर्डका सिईओ सुशिल भट्ट, सिद्धार्थ बैंकका सिईओ सुन्दर कँडेल, सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारी, पूर्व अर्थसचिव रामेश्वर खनाल, सानिमा रिलायन्स लाइफका सिईओ शिवनाथ पाण्डे, अर्थसचिव मधु कुमार मरासिनी र नामुद व्यापारी दीपक भट्टको दौडधूप चलिरहेको छ ।

उता, राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, हालका डेपुटी गभर्नर नीलम ढुंगाना र बमबहादुर मिश्रको नाम चर्चामा छ । यी चर्चामा रहेका नाममध्येबाट जसले बढी खर्च गर्न सक्छन् उनै भावी गभर्नर बन्नेछन् । चर्चामा रहेका व्यक्तिहरुले करोडौं खर्च मात्रै जुटाएर नभई प्रधानमन्त्री, अर्थमन्त्री र राजनीतिक दलका शीर्ष नेताहरुको समेत आशिर्वाद लिनुपर्ने हुन्छ ।

राष्ट्र बैंकको गभर्नर बन्न योग्यता, क्षमता र अनुभव भएर मात्रै हुँदैन, साम, दाम र दण्डभेदको समेत प्रयोग गर्नुपर्ने हुन्छ । त्यो जुटाउन जसले सक्छ उही भावी गभर्नर बन्न सफल हुने देखिन्छ । त्यसमा पनि सत्तासिन ठूला दल एमाले र कांग्रेसको भागबन्डा छुट्टै छ । यो सरकार बनेयता अहिलेसम्म भएका महत्वपूर्ण ठाउँका राजनीतिक नियुक्तिमा एमालेले कब्जा जमाएको छ । भावी गभर्नर कुन दलको कब्जाबाट बन्ने हुन् अहिलेसम्म निश्चित छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *