कर्मचारी संगठनको नेतृत्वमा त्रिपक्षी भिडन्त हुँदै

राजनीति समाचार

काठमाडौं । ‘मियो बलियो भए, दाईँ गतिलो हुन्छ’ भन्ने भनाई निजामती कर्मचारीभित्र चरितार्थ भएको छ । राजनीतिक दलकै कारण कर्मचारीहरु काममा भन्दा कर्मचारी युनियनको राजनीति गर्न व्यस्त छन् । कांग्रेस र एमाले निकट कर्मचारी युनियनका नेताहरु महाधिवेशनको चटारोमा होमिएका छन् ।

एमाले निकट कर्मचारी संगठनले यही माघ ३० देखि फागुन १ भित्र १२ औं महाधिवेशन सम्पन्न गर्दै छ । सो महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि रस्साकस्सी चलिरहेको छ । अध्यक्षमा हालका उपाध्यहरु भवानी दाहाल खतिवडा, प्रभाश शाह र रेवन्त गौतम प्रतिस्पर्धामा उत्रिने भएका छन् । तर, प्रभाश शाह र रेवन्त गौतमलाई वाइपास गरेर भवानी दाहाललाई अध्यक्ष बनाउने प्रयास भइरहेको बताइन्छ । उता, शाहलाई वरिष्ठ उपाध्यक्ष बनाएर दाहाललाई अध्यक्ष बनाउने खेलोफड्को पनि हुँदै छ ।

तर, हालका वरिष्ठ उपाध्यक्ष रेवन्त गौतम रिङबाट बाहिरिनुपरेपछि दाहालसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने मुडमा पुगेका छन् । त्यसकारण पनि सर्वसम्मतिको प्रयास हुँदाहुँदै निर्वाचन हुने सम्भावना बढेर गएको छ । उता, महासचिवमा आरसी अधिकारी र युवाचन्द्र घिमिरेको नाममा चर्चामा छ । घिमिरेलाई वरिष्ठ उपाध्यक्षमा थन्क्याएर महासचिवमा आरसीलाई ल्याउने तयारी पनि भइरहेको छ । अन्य पदाधिकारीको भने अहिलेसम्म उम्मेदवारीको चर्चा चलेको छैन तर आकाक्षीहरु धेरै छन् । यसलाई हेर्दा भावी अध्यक्ष बन्न देखिएका व्यक्तिहरु संगठनको लागि उपयुक्त नहुने कर्मचारीवृत्तमा चर्चा चल्न थालेको छ ।

हालका उपाध्यक्षहरुको कार्यशैली र व्यवहारले गर्दा उनीहरुभित्रबाट भावी अध्यक्ष भएको खण्डमा संगठन चलायमान नहुने कर्मचारीहरुले विश्लेषण गर्न थालेका छन् । किन कि कर्मचारी संगठनभित्र व्यक्तिगत गुट खडा गर्ने, कर्मचारी संगठनभित्रको कामलाई प्राथमिकता नदिने र संगठनको नाम भँजाएर फाइदा लिने जस्ता क्रियाकलापले कर्मचारीहरु असन्तुष्ट देखिएका छन् । कतिपय कर्मचारीहरुले त पुरानै नेतृत्वलाई निरन्तरता दिँदा उचित हुने तर्क राख्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *