श्रममा मानवतस्करी फस्टाउँदै, मन्त्री भण्डारी रमिते

राजनीति समाचार

काठमाडौं । कांग्रेस र एमाले मिलेर बनेको सरकारले भष्टाचार, अनियमितता र विकृति, विसंगति रोकेर जनतालाई सर्वसुलभ ढंगले सेवा दिने भने तापनि त्यो भाषणमै सीमित भएको छ । कांग्रेस र एमालेबाट मन्त्री बनेका मन्त्रालयमा जताततै भ्रष्टाचारी र विचौलियाको सेटिङ चलिरहेको छ । त्योभन्दा चर्को सेटिङ चलेको छ जसपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हालेका सरदसिंह भण्डारीको । भण्डारी योसहित १९ पटक मन्त्री भइसकेका व्यक्ति हुन् । भण्डारी पटक–पटक मन्त्री भइरहँदा पनि विवाद रहित बन्न सकेका छैनन् । जुन मन्त्रालयमा भण्डारी मन्त्री हुन्छन् त्यहाँ विवाद सुरु भइहाल्छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री भण्डारी र सचिवबीच लेनदेनमा कुरा नमिल्दा सचिव नै सरुवामा परेका थिए । हाल सो मन्त्रालयमा सचिव पुष्करहरि कर्ण आइपुगेका छन् । सचिव कर्ण पनि विभिन्न मन्त्रालयमा रहँदा विवादमा मुछिँदै आएका व्यक्ति हुन् । सचिव कर्णलाई विवादमा पार्ने काम चाहीं तत्कालीन सचिव हालका मुख्यसचिव एकनारायण अर्यालले गर्दै आएका थिए । हाल श्रम तथा रोजगारमन्त्रालय सम्हाल्न पुगेका कर्ण नफस्लान् भन्न सकिँदैन ।

सो मन्त्रालयमा मानवतस्करी र विचौलियाहरुको ठूलो सेटिङ चल्ने गर्दछ । त्यसको डिजाइनमा मन्त्री भण्डारी आफै माहिर छन् । त्यसको गतिलो उदाहरण लिन सकिन्छ वैदेशिक रोजगार विभाग ताहचल शाखालाई । ताहचल शाखामा शाखा अधिकृत रहेका छन् जंगबहादुर राई । राईले ताहचल शाखामा बसेर विभिन्न अवैध धन्दा सञ्चालन गर्नेदेखि अध्यागमन कार्यालय एयरपोर्टमासमेत सेटिङ चलाउने गर्दै आएका छन् । राई पहिला काठमाडौं जिल्ला प्रशासन कार्यालय हुँदै अध्यागन कार्यालय र हालसम्म गरी दुई पटक वैदेशिक रोजगार विभाग सम्हाल्न सफल भएका व्यक्ति हुन् । अधिकृत राईले वैदेशिक रोजगारीमा जाने प्रत्येक महिलाबाट अवैध रुपमा ४० देखि ७० हजारसम्म असुन्ने गर्दै आएको स्रोतको भनाइ छ ।

अधिकृत राईसँगै संस्थागत शाखाका कर्मचारी, इण्डिभिजिअल शाखाका कर्मचारी र मेनपावर एजेन्टहरुको मिलेमतोमा नक्कली डिमान्ड लेटर खडा गरेर महिलाहरुलाई अवैध तरिकाले विदेश पाठाने धन्दा फस्टाएको छ । त्यसरी अवैध रुपमा महिलाहरुलाई ठगेर असुलेको पैसाको भाग मन्त्री भण्डारीसम्म पुग्ने गरेको स्रोतले उल्लेख गरेको छ । मन्त्री भण्डारी पनि के कम उनको पार्टीलाई पैसा चाहिएकै छ ।

अहिलेसम्म उनी साम, दाम दण्डभेद लगाएर निर्वाचित हुँदै आएका व्यक्ति हुन् । मन्त्री भण्डारी आफ्नो स्वार्थ हेरेर पार्टी पनि परिवर्तन गरिरहन्छन् । पार्टी परिवर्तन गरेपछि उनी मन्त्री पनि बनिहाल्छन् । भण्डारी मन्त्री बन्दा पनि सधैं मालदार मन्त्रालय ताक्छन् । अनि कहाँबाट हुन्छ भ्रष्टाचारीलाई कारबाही ? श्रम, रोजगार तथा सामाजिक सुृरक्षा जस्तो गरिमामय मन्त्रालयमा भण्डारी जस्ता विवादित छविका व्यक्ति मन्त्री भएपछि कहाँबाट पाउँछन् सर्वसाधारणले न्याय ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *