काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उच्च शिक्षाका पाठ्यक्रमहरूमा इन्टर्न अनिवार्य गर्नका लागि गृहकार्य अगाडि बढेको बताएकी छिन् ।
मदन भण्डारी मेमोमिरियल कलेजले क्यूएए (गुणस्तर प्रत्यायनकृत) प्राप्त गरेको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएकी हुन् । कक्षा १२ पास गरेपछि विदेश जानुका अनेक कारण हुनसक्ने र उच्च शिक्षा प्राप्त गरेको विषय तलबमा मापन हुन नसक्ने पनि रहेकोले शिक्षालाई रोजगार, सीप र उद्मसँग जोड्नका लागि समेत पाठ्यक्रममा इन्टर्न अनिवार्य गर्न लागिएको उनले बताएकी छिन् । शिक्षाको गुणस्तर उकास्न समय लाग्ने भएपनि यसप्रति हरसम्भव प्रयास गर्ने र दिगो समाधान गरी आगामी भावी योजनामा रुपान्तरण गर्ने प्रतिबद्वता समेत जनाएकी छिन् ।
सामुदायिक विद्यालय र कलेजका आफ्नै प्रकृतिका समस्या रहेको बताउँदै उनले घट्दो विद्यार्थी संख्या र बढ्दो विदेश पलायन रोक्न शिक्षालाई तलबमा मापन गर्न सक्नुपर्ने जिकिर गरिन् । सरोकारवालाहरूले राज्यले शिक्षामा स्पष्ट नीति अवलम्बन गर्न नसकेको भनेर सरकारको ध्यानाकर्षण पनि गराइ रहेकाले व्यवस्थित सुशासन पद्वतिको शिक्षालाई सरकारले प्राथमिकतामा राखेको समेत शिक्षा मन्त्रीले दाबी गरेकी छिन् ।