सरकारले विकासभन्दा भएका संरचनालाई प्रभावित गरेको प्रचण्डको टिप्पणी

राजनीति समाचार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालले त्रिदेशीय विद्युत व्यापार सम्झौता गर्दा कोसेढुंगा साबित भएको बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान नेपालका पदाधिकारीहरुसँग आज भएको भेटमा उनले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत व्यापार सम्झौता नेपालको समृद्धिका लागि कोसेढुंगा भएको धारणा व्यक्त गरेका हुन् । आफुले सरकारको नेतृत्व गर्दा भारत भ्रमणका क्रममा त्रिदेशीय विद्युत व्यापारको सहमति गरेर बंगलादेशसँग पनि धेरै मिहिनेतका साथ नेपालको हितमा रहि विद्युत व्यापार सम्झौता गरेको उनले बताएका छन् । तर, अहिलेको सरकारले विद्युतको विकासभन्दा पनि भएका संरचनालाई प्रभावित गर्ने गरी हस्तक्षेप बढाएको टिप्पणी समेत गरेका छन् ।

भारत हुँदै बंगलादेशमा विद्युत निर्यात गर्ने र भारतलाई दश वर्षमा दश हजार मेगावाट विद्युत विक्री गर्ने सम्झौता तथा चीनमा विद्युत निर्यात गर्ने समझदारी कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प बाहेक अरु नभएको उनले जानकारी दिएका छन् । आफुले नेतृत्व गर्दा ऐनको बाधा, राष्ट्रिय निकुञ्ज ऐन २०२९ र वनका विभिन्न मुद्दा सम्बोधन हुने गरी अध्यादेश ल्याएपनि अदालतले रोकेको उनले बताएका छन् ।

कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले संसदमा रहेको विधेयकमा पहिले ५० वर्षको लाइसेन्स हुने व्यवस्था रहेकोमा अहिले ३५ वर्ष प्रस्ताव गरिएको र अहिले थुप्रै फाइल थन्किएकाले यसमा प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा सहजीकरण गरिदिन अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *