काठमाडौं। गण्डकी प्रदेशमा आयुर्वेद चिकित्सालय संघीय सरकारले बनाउने भएको छ ।
संघीय सरकारले सातै प्रादेशिक आयुर्वेदिक चिकित्सालय बनाउने नीति लिएपछि गण्डकी प्रदेश सरकारले आफूले बनाउने भनेको अस्पताललाई नै एक सय बेडको बनाउनका लागि पत्राचार गरेको हो । गण्डकी प्रदेश सरकारले बनाउने भनेको आयुर्वेद चिकित्सालय संघीय सरकार आफैँले बनाउने भएको छ । यसअघि गण्डकी प्रदेशले २५ बेडको अस्पताल बनाउने भन्दै संघीय सरकारबाट जग्गा प्राप्तिसमेत गरिसकेको थियो ।
संघीय सरकारले यो वर्ष आयुर्वेद चिकित्सालय निर्माणका लागि चालु आर्थिक वर्षमा १० करोड रुपैयाँ विनियोजन भएको छ भने कुल लागत ६० करोड रुपैयाँ अनुमान गरिएको छ । चिकित्सालयका लागि २५ रोपनी जग्गा उपलब्ध भइसकेको, र थप १० रोपनी जग्गाका लागि स्थानीयसँग सुनिश्चितता गरिएको पनि संघीय सरकारले जानकारी दिएको छ ।
चिकित्सालय निर्माण स्थलको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निरीक्षण गरेका छन् । सुविधा सम्पन्न एक सय बेडको चिकित्सालय निर्माणका लागि सरकारले विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार गरी टेन्डर प्रक्रियाअगाडि बढाउन लागेको स्वास्थ्यमन्त्री पौडेलले जानकारी दिए ।
चिकित्सालयमा शिरोधारा, साउना बाथ, स्टिम बाथ, ज्याकुजी, अंकुपंचर, नेचुरोप्याथिक, योग लगायतका सेवा उपलब्ध हुने गण्डकी आयुर्वेद अस्पतालका प्रमुख डा.शंकर गौतमले जानकारी दिए ।
पञ्चकर्म सेवाका लागि भीआईपी डिलक्स, र डिलक्स गरी ५ वटा भिल्ला तयार गरिने समेत डा.गौतमले बताए । डिलक्स पछि क्याविन र साधारण शय्या गरेर एकसय पुर्याउने र आवासीय रुपमा समेत उपचार सेवा उपलब्ध गराउने उनको भनाइ रहेको छ ।