झरौखर थानाबाट एक जना नेपाली गाँजा तस्कर फरार

देश/विदेश समाचार

काठमाडौं । भारतको बिहार राज्यस्थित मोतीहारी जिल्ला, झरौखर थानाको नियन्त्रणबाट एक जना नेपाली गाँजा तस्कर फरार भएका छन् ।

भारतीय नम्बरको गाडीमा बीआर १ पीबी ०१११ नम्बरको कारमा ४३ किलो लागुऔषध गाँजा लुकाइछिपाइ बाराबाट भारततर्फ लगिरहेको अवस्थामा बिहीबार झरौखर चोकस्थित भारतीय सीमामा पक्राउ परेका रौतहट, मौलापुर नगरपालिका, पिपरिया गाउँका २५ वर्षीय लक्ष्मी नारायण साह बिहान ६ बजे शौच गर्ने बहानामा थाना छेउको चौरमा लागिएको अवस्थामा शुक्रबार बिहान भारतीय प्रहरीको नियन्त्रणबाट भागेका हुन् । झरौखर थानाबाट नेपाली सिमाना दशगजा बढीमा ५ सय मिटरको दुरीमा पर्छ ।

साह भागेपछि लगत्तै थानाका चौकीदार राम औतारलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय मोतीहारीले जनाएको छ । मोतीहारीका एसपी सुवर्ण प्रभातका अनुसार हतकडीबीना शौच गराउन लगेका चौकीदार राम औतारलाई तत्काल निलम्बन गरी रक्सौलका डीएसपी धीरेन्द्र कुमारको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *