कर्मचारी संगठनमा जबर्जस्ती सर्वसम्मती

राजनीति समाचार

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशनको उद्घाटन राष्ट्रिय सभागृहमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ ३० गते गरेका थिए । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले सर्वसम्मतीबाट नयाँ नेतृत्व चयन गर्ने उद्घोष गरेका थिए । महाधिवेशनमा ७ सय ३७ प्रतिनिधि मतदाता रहेका थिए । सहभागीमध्ये बहुसंख्यक प्रतिनिधिहरुले निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने भन्दै नाराजुलुसमेत गरेका थिए । सर्वसम्मतिको नाममा अधिवेशन २ दिन पर धकेलिएको थियो ।

सहमतिको लागि एमाले शीर्ष नेतादेखि कर्मचारी संगठनका पूर्व अध्यक्ष पुण्ये ढकाल, भोलानाथ पोखरेल र निवर्तमान अध्यक्ष लेखनाथ कोइरालाको एउटा खेमाले भवानी दाहाललाई सर्वसम्मतिबाट अध्यक्ष चयन गर्ने योजना बनाएका थिए । उनीहरुकै योजना अनुसार महाधिवेशनको उद्घाटन समारोहमा एमाले अध्यक्ष ओलीका विशेष दूतको रुपमा एमाले महासचिव शंकर पोखरेल र नेता भानुभक्त ढकालले दाहालको पक्षमा खुलेर वकालत गरेका थिए ।

सर्वसम्मतीको नाममा नाटक मञ्चन गरेर तीन दिन बिताएर दाहाललाई अध्यक्ष बनाइएको छ । निवर्तमान वरिष्ठ उपाध्यक्ष रेवन्त गौतमले अध्यक्षमा अड्डि कसेपछि उनलाई फकाउन विभिन्न नेतादेखि कार्यकर्तासमेत लागिपरेका थिए । तर, बहुसंख्येक प्रतिनिधिहरु निर्वाचन गराउन चाहन्थे । तर, गौतमको पक्षमा माहोल देखेपछि दाहाल सर्वसम्मतको पक्षमा उभिएकी थिइन् । गौतम पक्षले भने आफ्नो पक्षमा बहुमत रहेको दावी गर्दै आएको थियो । तर, रेवन्तलाई वामदेव गौतम निकट भनेर आरोप लगाएर उपाध्यक्षमा धन्क्याइएको छ । त्यसपछि सर्वसम्मतीमा दाहाललाई अध्यक्षमा चयन गरियो ।

यसले आधिकारिक ट्रेडयुनियनमासमेत असर गर्ने भन्दै कर्मचारीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । आधिकारिक ट्रेड युनियनमा एमाले निकट कर्मचारीको बहुमत हुँदाहुँदै पनि लामो समयदेखि निर्वाचन गर्न सकेको छैन । आधिकारिक ट्रेड युनियनको निर्वाचन २०७६ सालमै गर्नुपर्नेमा २०८१ फागुन लागिसक्दा पनि गरिएको छैन । सरकारले पनि आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्न चासो देखाएको छैन, र त्यहाँका पदाधिकारीहरुले विभिन्न बहाना गर्दै पछाडि धकेलिरहेका छन् । पोखरेलले आधिकारिककै नाममा देश, विदेश घुम्नेदेखि कर्मचारी सरुवा, बढुवामा मोलमोलाइ गर्ने, आर्थिक लाभ लिने, एमालेका कुरा माओवादीलाई र माओवादीको कुरा एमालेलाई लगाएर विचौलियाको भूमिका खेल्ने गरेको कर्मचारी स्रोतको भनाइ छ ।

त्यसैगरी पोखरेलले कर्मचारी संगठनको अधिवेशनमा पनि दोहोरो भूमिका खेलेको बताइन्छ । कर्मचारी संगठनको सम्पन्न १२ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । महाधिवेशनबाट अध्यक्षमा भवानी दाहाल सर्वसम्मत चयन भएकी छिन् । अध्यक्षका अर्का प्रत्यासी रेवन्त गौतम बरिष्ठ उपाध्यक्ष थन्किएका छन् । अर्का गरिष्ठ उपाध्यक्ष प्रभाष शाह चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा कृष्णबहादुर केसी, युवाचन्द्र घिमिरे र विष्णुप्रसाद अर्याल रहेका छन् ।

महिला उपाध्यक्षमा विजया लक्ष्मी सुवेदी चयन भएकी छिन् । महासचिवमा रामचन्द्र (आरसी) अधिकारी चयन भएका छन् । त्यसैगरी उपमहासचिवमा वामदेव वली, सूर्य बहादुर कुँवर र महिला उपमहासचिवमा कमला दाहाल चयान भएका छन् । त्यस्तै सचिवमा राजन बहादुर पछाईं, नेत्र प्रकाश भण्डारी, ओम बहादुर कठायत र गोविन्द अधिकारी चुनिएका छन् भने महिला सचिवमा देवी पराजुली रहेकी छिन् । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा दाहाल नेतृत्वको कार्यसमिति घोषणा गरिएको हो । माघ ३० गते उदघाटन गरिएको महाधिवेशन फागुन १ गतेसम्म चल्ने भनिए तापनि सर्वसम्मतिमा किचलो हुँदा फागुन ३ गतेसम्म लम्बिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *