बाँझो जग्गा सदुपयोग गर्न तित्याङमा ओखरखेती विस्तार

गण्डकी प्रदेश समाचार

काठमाडौं । बागलुङको तित्याङमा ओखरखेती विस्तार गरिएको छ । बसाइँसराइका कारण खेतीयोग्य जग्गा बाँझिदै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्न तित्याङमा करिब तीन सय रोपनी जग्गामा ओखरखेती थालेको हो ।

नगरपालिकाले गत वर्षदेखि बाँझो जग्गामा रहेका कुकाठ हटाउने अभियानसँगै सुक्खा फलफूलखेती गर्न स्थानीयलाई प्रेरित गर्न थालेको हो । बागलुङ नगरपालिका–९ तित्याङको डोय क्षेत्रमा गत वर्ष र यस वर्ष गरी २८० रोपनी जग्गामा ओखरखेती विस्तार गरिएको पालिकाले जनाएको छ ।

नगरपालिकाको रु १२ लाख र स्थानीयको रु आठ लाख गरी रु २० लाखमा जुरेढुङ्गा क्षेत्रको १४० रोपनी जग्गामा एक हजार ५०० ओखरका बिरुवा लगाउन थालिएको छ । यस वर्ष रु २० लाखबाट बिरुवा खरिद, रोपण, सिँचाइ पोखरी निर्माण र मलखादको व्यवस्थापन गर्नेलगायत काम भइरहेका छन् ।
सिँचाइको अभाव रहेको र बाँझो जग्गामा सुक्खा फलफूलखेती राम्रो हुने भएकाले कुकाठ हटाएर बाँझो जग्गा सदुपयोग गर्न थालिएको बागलुङ नगरपालिकाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *