काठमाडौं । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ । हाल सञ्चालनमा रहेको सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिन–गाईघाट–दासढुङ्गा–ठिमुरा–गैँडाकोट सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको हो ।
उक्त कार्यका लागि सडक विभागले चालु आर्थिक वर्षमा रु दुई करोड ६९ लाख ३२ हजार विनियोजन गरेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट सडकको ट्रयाक खोल्ने काम भइरहेको छ । मुग्लिन नारायणगढ सडकको विकल्पमा मुग्लिनबाट गाईघाट, दासढुङ्गा, ठिमुरा, देवघाटको देवपुर हुँदै नवलपुरको गैँडाकोट जोड्ने सडकको विस्तृत अध्ययन (डिपीआर)पश्चात् सडक विभागले पहिलो चरणको ठेक्का लगाएको हो ।