काठमाडौं । काठमाडौं विश्वविद्यालयमा विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले सम्बन्धित तहमा सेमेष्टर उत्तीर्ण गरेको प्रमाणपत्रका आधारमा बाँकी रहेको सेमेष्टरको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने व्यवस्था गरिने भएको छ ।
विदेशका विश्वविद्यालयमा विद्यार्थीहरूले भोग्नुपरेको समस्याका बारेमा विश्वविद्यालयका पदाधिकारी, विद्यार्थीहरूबीचको छलफलपछि यस्तो निष्कर्षमा पुगिएको विश्वविद्यालयका कार्यवाहक उपकुलपति अच्युत वाग्लेले जानकारी दिएका छन् । शुक्रबारसमेत यस विषयमा छलफल हुँदा विभिन्न विश्वविद्यालयमा एउटा सेमेष्टरमा कोर्ष पूरा गरेको प्रमाणित भएमा यहाँ बाँकी सेमेष्टर अध्ययन गर्न सहज हुने जानकारी गराइएको बताएका हुन् ।
उपकुलपति वाग्लेले ओडिसास्थित केआइआइटी विश्वविद्यालयसँग काठमाडौं विश्वविद्यालयको औपचारिक सम्झौता नभए पनि अहिलेको समस्या समाधानका लागि कूटनीतिदेखि प्राज्ञिक छलफलका माध्यमबाट सहजीकरणका लागि पहल गरिनुपर्ने बताएका छन् । “कोर्ष ट्रान्सफर गरेर अध्ययन गर्न र परीक्षा दिन चाहनेलाई सहज हुने गरी शुल्क व्यवस्थापन हुनेछ, हरेक विद्यार्थीको समस्यालाई पहिचान गरेर समाधानको गर्न प्रयत्न गर्छौं”, उनले भने ।