सामान्य अवस्थामा अध्यादेश ल्याउन चुक्यो सरकार :अध्यक्ष दाहाल

राजनीति समाचार

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइको सरकारले सामान्य अवस्थामा अध्यादेश ल्याउन नसक्दा सरकार असफल भएको बताएका छन् ।

कैलालीको टीकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा मंगलबार बिहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । अध्यादेश ल्याउने कुरा नै अलोकतान्त्रिक कुराभएकोले दुई तिहाइको अहंकार गर्ने सरकारले सदन आउँदै गर्दा अध्यादेश ल्याउनु नै गलत भएको उनले प्रस्ट्याएका छन् ।

भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश गत २ माघमा जारी भएको थियो । त्यस अगाडि गत १४ पुसमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको थियो । २९ पुसमा थप चारवटा अध्यादेश जारी भएका थिए । सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन)अध्यादेश जारी भएको हो ।

निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको हो । यी ६ मध्ये भूमि बाहेकका अध्यादेश अब बस्ने सदनको बैठकमा अगाडि बढाउने सत्तारुढ दलहरूको तयारी छ । प्रतिनिधि सभाको बैठक भोलि बुधबार बस्दैछ भने राष्ट्रिय सभाको बैठक पर्सी बिहीबार गते बस्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *