काठमाडौं । अमेरिकामा अवैधरुपमा बसेका नेपालीहरू आज अमेरिकी चार्टर जहाज मार्फत् काठमाडौं आउँदैछ। अमेरिकाको अध्यागमन कानुन उल्लंघन गर्ने नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज आज बिहान १० बजे काठमाडौंमा आउने भएको हो।
स्रोतका अनुसार चार्टर जहाजमार्फत नेपाल फर्काइनेहरूमा ११ जना नेपालीलाई चार्टर विमानमार्फत नेपाल फर्काउन लागेहो हो। यो संख्या थपघट पनि हुनसक्ने जानकारी गराइएको छ । अमेरिकामा डोनाल्ड ट्रम्पले गत जनवरी २० मा राष्ट्रपतिको सपथ लिएसँगै गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूप्रति आक्रामक बन्दै प्रशासनले धमाधम अमेरिकाबाटआप्रवासीहरूलाई निष्कासन गरिरहेको छ।
अवैध आप्रवासी नेपालीहरूलाई लिएर पहिलोपटक चार्टर जहाज काठमाडौं आउन लागेको हो। झन्डै एक महिना अगाडि नेपालस्थित अमेरिकी दूतावासले निष्कासित भएका केही नेपालीलाई चार्टर जहाजबाट काठमाडौं ल्याउने तयारी भइरहेको गृह मन्त्रालयलाई जानकारी गराएको स्रोतले बताएको छ।
पछिल्लो दुई महिनामा कम्तीमा २९ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ। जनवरी २० पछि उक्त संख्यामा बढोत्तरी भएको स्रोतको दाबी रहेको छ। अमेरिकाले अंग्रेजी महिना जनवरी र फेब्रुअरीमा गरी २९ जनालाई निष्कासन गरेको हो। ती नेपालीहरू विभिन्न एयरलायन्समार्फत नेपाल फर्काइएका हुन्।
इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्टको रिपोर्टअनुसार अमेरिकामा अवैधरूपमा बसोबास गर्ने नेपालीहरू बढी निशानामा पर्दै आएका छन्। त्यसो त विद्यार्थी भिसामा गएर कानुन विपरीत काम गर्ने नेपालीहरूलाई पनि ट्रम्प प्रशासनले निशाना साँधिरहेका छन्। अमेरिकाबाट नेपाल फर्काइएकाहरूमाथि अवैध प्रवेश, गैरकानुनी रूपमा बसोबास र अध्यागमन कानुन विपरीत काम गरेको आरोप लगाइएको छ।