काठमाडौं । सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आन्तरिक तयारी थालेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट दुवैले राष्ट्रसेवक र सङ्गठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराउने विषय उल्लेख गरेको थियो ।
स्वास्थ्य बीमा ऐन २०७४ मा भएको व्यवस्थाअनुसार आएको नीति तथा कार्यक्रम र बजेटमा भएको व्यवस्था लागू गराउन मन्त्री पौडेलले नेपाल सरकारका सबै मन्त्रालय, आयोग, निकाय तथा मातहतका विभागमा पहल थाल्ने निर्णय गरेका छन् ।
यसैगरी, प्रदेश सरकार मातहतका निकाय, विभाग तथा कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत् पहल गर्ने निर्णय मन्त्री पौडेलले गरेका छन् । त्यस्तै सबै स्थानीय तहहरूमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् पहल गर्ने निर्णय मन्त्री पौडेलले गरेका छन् ।
मन्त्रालयले सरकारी वेतनधारीका अलावा सङ्गठित क्षेत्रका कर्मचारीलाई समेत स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउने योजना बनाएको छ । यसो भएमा स्वास्थ्य बीमा कोषमा प्रिमियम पर्याप्त हुने र कार्यक्रम दिगो बन्ने मन्त्रालयले गठन गरेको स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा छ ।
यस व्यवस्थालाई सरकारको कार्यक्रम बनाउने घोषणा गरेका मन्त्री पौडेलले मन्त्रालयको प्रस्तावमा नीति तथा कार्यक्रम र बजेटमा यो विषय समावेश गराएका थिए ।