आज अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस

विविध समाचार

काठमाडौं। अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस हातहतियारको होडबाजी र निःशस्त्रीकरणलाई सधैंका निम्ति अन्त्य गर्ने सन्देश प्रवाहका साथ आज विश्वभर मनाइँदैछ।

विशेषगरी यो दिवस युवापुस्तामाझ शस्त्रास्त्रको होडबाजी हुन नदिने जागरुकता वृद्धि अभियानमा केन्द्रित हुने गरेको छ। संयुक्त राष्ट्रसंघ स्थापना भएदेखि नै आमविनाशकारी हतियार र खासगरी आणविक हतियारको प्रयोगविरुद्ध विश्व समुदायलाई सचेत गराउनु यो दिवसको उद्देश्य हो। यो दिवसले सशस्त्र द्वन्द्व रोक्न र हतियारको बेचबिखन अन्त्य गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रसंघको विश्वास छ। निःशस्त्रीकरण मामिलाका लागि राष्ट्रसंघीय कार्यालय (युएनओडिए) को आह्वानमा मनाइने यो दिवसका अवसरमा महासचिव एन्टोनियो गुटेरेसले निःशस्त्रीकरण र अप्रसार शान्तिका निम्ति भएको लगानी हो भन्दै त्यसबाट विश्व समुदायको भविष्यका लागि पनि लगानी भएको बताएका छन्।

विश्व शान्ति र निःशस्त्रीकरणका लक्ष्य हासिल गर्ने उद्देश्यले सन् १९८७ मा स्थापना भएको युएनओडिएको एसिया प्रशान्त कार्यालय काठमाडौंमा रहेको छ। यो कार्यालयको तत्वावधानमा आज यहाँ निःशस्त्रीकरणसम्बन्धी चेतनामूलक कार्यक्रम आयोजना हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *