काठमाडौं । नेपाली कांग्रेसबाट उर्जा, जलस्रोत तथा सिंचाईंमन्त्री बनेका दीपक खड्काले जलस्रोत जस्तो महत्वपूर्ण क्षेत्रलाई चलायमान बनाउनुको सट्टा उल्टै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग पौठेजोरी खेलेर समय बिताइरहेका छन् । हुन त कुलमान पनि दुधले नुहाएका स्वच्छ छविका व्यक्ति होइनन् । घिसिङले लोडसेडिङ हटाएको नाममा विभिन्न योजना, आयोजनामा कुृरोडौं असुली गर्दै आएका थिए ।
त्योसँगै विद्युत प्राधिकरणभित्र हुने ठूला–ठूला आयोजना, योजनाका ठेक्काहरु आफ्ना भाइ, भतिजाहरुको नाममा खोलिएका निर्माण कम्पनीलाई ठेक्का दिएर ठूलो मात्रामा आर्थिक लाभ लिँदै आएका छन् । त्योसँगै विभिन्न हाइड्रोपावर कम्पनी नविकर र नयाँ दर्ताको स्वीकृति दिने नाममा पनि घिसिङले अकुत सम्पत्ति असुल्ने गरेको स्रोतको भनाइ छ । उता, मन्त्री खड्का पनि नामुद जलमाफिया हुन् । मन्त्री खड्का आफै हाइड्रोपावर व्यवसायी हुन् । आफै हाइड्रोपावर सञ्चालक भएकाले उनले भनेअनुसारको काम कुलमानले नगरेपछि मन्त्री खड्का र कार्यकारी निर्देशक घिसिङबीच टसल परेको हो । अहिले मन्त्री खड्का र कार्यकारी निर्देशक घिसिङको टसलले विद्युत प्राधिकरणभित्र उग्र रुप लिएको छ । त्यो पनि नेपाल विद्युत् प्राधिकरणभित्र राम्रो काम गर्ने नाममा नभई दुवैको व्यक्तिगत स्वार्थको कारण द्वन्द्व चर्किएको हो ।
उता, मन्त्री खड्काले सिंचाई विभागका महानिर्देशक पटक–पटक फेरेर ठूला–ठूला आयोजनाको कामसमेत प्रभावित भएको छ । विद्युत प्राधिकरण र सिंचाईंमा खेलेर मन्त्री खड्काले नेपाली कांग्रेसकै धज्जी उडाउने काम गर्दै आएका छन् । विद्युत प्राधिकरणभित्रको लडाईँ र सिंचाई विभागको महानिर्देशक फेरबदल गर्ने खेलोफड्कोले मन्त्री खड्का दिनप्रतिदिन बद्नाम हुँदै गएका छन् । मन्त्री खड्काले कर्मचारीमाथि ईगो साँधेर टसल गर्दा एकातिर आफ्नै कद घटाउने काम गरेका छन् भने अर्कोतिर विकास निर्माणको काम अलपत्र पार्दै आएका छन् । मन्त्री खड्काले सिंचाई र विद्युत प्राधिकरणमा गरेको हर्कतले कांग्रेसभित्र संस्थापन पक्ष र इतरपक्षबीच मनमुटाव सुरु भएको छ ।