काठमाडौं । नेपालमा व्यावसायिक रुपमा बिक्री हुने बोतल तथा जारको पानीमा माइक्रोप्लास्टिकको मात्रा उच्च देखिएको छ ।
नेपालमा बिक्री हुने ११ ब्रान्डका ५६ वटा नमूना अध्ययनका लागि संकलन गरी ती नमूनाका एक सय २० लिटर पानीलाई स्टेरियोमाइक्रोस्कोपको प्रयोगले दृश्यात्मक रूपमा परीक्षण गरिएको थियो । पोलिमेरिक विश्लेषण भनेको प्लास्टिक तथा अन्य बहुलक पदार्थहरूको वैज्ञानिक अध्ययन गर्ने विधि हो।
माइक्रोप्लास्टिकका कणहरू ६.७ माइक्रोनदेखि पाँच हजार माइक्रोनसम्मका विभिन्न आकारका थिए। अध्ययनले गर्मी वातावरणमा पाइने पानीमा माइक्रोप्लास्टिकको सघनता अझै बढी हुने सम्भावना रहेकोले मानव स्वास्थ्य र वातावरणमा यसले गम्भीर असर पार्ने विज्ञहरु बताउँछन् । बोतल तथा जारको निर्माण प्रक्रियामा प्रयोग गरिने प्लास्टिक सामग्रीहरू, पानी प्रशोधन प्रणाली, बोतल आफैं तथा ढकनी तथा पानीको स्रोत नै माइक्रोप्लास्टिकको स्रोत हुन सक्छ।
बोतल खोल्दा तथा बन्द गर्दा, ढकनी र बोतलको घर्षणका कारण पनि माइक्रोप्लास्टिक उत्पन्न हुने सम्भावना रहनुको साथै, वितरण प्रणालीका पाइपलाइन तथा भण्डारण प्रणालीबाट समेत माइक्रोप्लास्टिक पानीमा मिसिन सक्छन्। नेपालमा बिक्ने बोतल तथा जारको पानीमा माइक्रोप्लास्टिकको व्यापकता गम्भीर चिन्ताको विषय बनेको छ। यसले हाम्रो शरीरमा तत्काल नकारात्मक असर नदेखिए पनि दीर्घकालीन असर पर्ने अनुसन्धानकर्ताहरु बताउँछन् ।

