काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर देशवासीको नाममा दिएको शुभकामना सन्देशले राजनीतिक दलहरु एकाएक तरंगित भएका छन् । ज्ञानेन्द्र शाहले सर्वसाधारण जनतालाई शुभकामना सन्देश दिएको विषयलाई लिएर विभिन्न राजनीतिक दलका नेता र सांसदहरुले टिकाटिप्पणी गरेका थिए ।
औपचारिक कार्यक्रममा नेता र मन्त्रीहरुले पूर्वराजाको शुभकामना सन्देशलाई लिएर अभिव्यक्ति दिँदा झन् ज्ञानेन्द्र शाहको प्रचार हुन पुगेको छ । राजतन्त्रलाई भजाएर आफ्नो राजनीतिक दुनो सोझ्याउन पल्केका कमल थापा, राजेन्द्र लिङदेन, पशुपति शमशेर राणा, ज्ञानेन्द्र शाही र दूर्गा प्रसार्ईँ जस्ता व्यक्तिहरु सलबलाउन पुगेका छन् । ज्ञानेन्द्र शाह पोखरा भ्रमणबाट काठमाडौं फर्किने क्रममा पूर्वराजाको नाम भजाउँदै जुलुस नारासहित एयरपोर्ट भरिभराउ गरेका थिए । ज्ञानेन्द्र शाह एयरपोर्टबाट बाहिरिँदा थापा, राणा, प्रसाईँ र शाहीहरुले स्वागतको नाममा भीड जम्मा गरेका थिए । त्यो भीडले ‘हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ, राजा आऊ देश बचाऊ’ जस्ता नारा घन्काएका थिए । ती नारा लगाउने भीडले नेपालको राष्ट्रिय झण्डासँगै भारतीय आदित्यनाथको फोटोसमेत प्रदर्शन गरेका थिए ।
खुल्ला गाडीमा हात हल्लाउँदै पूर्वराज एयरपोर्टबाट बाहिरिएपछि सो भीड ज्ञानेन्द्रको पछिपछि नाराहिटीतिर लागेको थियो । ज्ञानेन्द्र शाहको पछि लागेको भीड देखेपछि राजनीतिक दलहरुको होसहवास नै उडेको थियो । उता, देश दौडाहामा निस्किएका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले पूर्वको भ्रमण सिध्याएर महोत्तरीमा आमसभा गर्ने कार्यक्रम राखेका थिए ।
त्योसँगै नेपाली कांग्रेस र नेकपा एमालेले पनि प्रचण्डलाई भेट्नको लागि महोत्तरीमै आमसभा गर्ने कार्यक्रम राखेका थिए । तीनै दलले महोत्तरीमै आमसभा गर्ने कार्यक्रमको चाजोपाजो कांग्रेस सभापति शेरबहादुर देउवाले मिलाएका थिए । सो कार्यक्रमको अवसर पारेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रचण्डलाई भेटी कार्यक्रम छोट्याएर काठमाडौं आउन आग्रह गरेका थिए ।
देउवा र ओलीको आग्रहपछि प्रचण्ड पनि निर्धारित कार्यक्रम स्थगित गरेर काठमाडौं फर्किका थिए । प्रचण्डले देशदौडाको कार्यक्रम छोडेर काठमाडौं फर्किपछि दलहरुको तर्फबाट प्रचण्डको नेतृत्वमा राजावादीविरुद्ध चैत १५ गतेबाट आन्दोलन गर्ने तयारी गरेका छन् । उता राजावादीहरुले पनि दलहरुविरुद्ध चैत १५ गते बाटै नवराज सुवेदीको नेतृत्वमा तेस्रो जनआन्दोलन गर्ने तयारी गरिरहेका छन् । तर, यस विषयमा कांग्रेसका सभापति शेरबहादुर देउवा मौन बसेका छन् भने कांग्रेस इतरपक्षका नेताहरु सशंकित भएका छन् । नवराज सुवेदीको नेतृत्वमा हुने तेस्रो जनआन्दोलनको बैठकमा भने राजेन्द्र लिङदेन र कमल थापा सहभागी नभएको स्रोतको भनाइ छ ।

