काठमाडौं । आज अन्तर्राष्ट्रिय शून्य फोहर दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
मानवको अस्थिर उत्पादन र उपभोगका अभ्यासले विश्वलाई विनाशतर्फ धकेलिरहेकाले फोहर उत्पादन एवं व्यवस्थापनमा सचेत हुनुपर्नेमा जोड दिँदै आज विश्वभर यो दिवस मनाउन लागेको हो ।
संयुक्त राष्ट्रसङ्घका अनुसार एक वर्षमा विश्वभरका नगर क्षेत्रमा उत्पादन हुने ठोस फोहरले विश्वलाई २५ पटक ढाक्न पुग्छ । फोहरको यो भयावह उत्पादन घटाउन राष्ट्रसङ्घीय वातावरण कार्यक्रम तथा मानव बसोबास कार्यक्रमले राष्ट्रसङ्का सदस्य देशलाई सघाइ रहेका छन् । सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न विश्वलाई फोहरमुक्त गर्न अपरिहार्य भएको राष्ट्रसङ्घको कथन रहेको छ ।
विद्युतीय उपकरण, खाद्यपदार्थ र अन्य सामग्री तथा प्लाष्टिक एवं प्लाष्टिकजन्य वस्तु प्रयोग गरेर ‘प्याकेज’ हुने सामान, घरपरिवार, साना व्यवसाय र सार्वजनिक सेवा प्रदायकहरूबाट प्रत्येक वर्ष २.१ अर्ब देखि २.३ अर्ब टन ठोस फोहर उत्पादन भइरहेकाले संसारलाई फोहरमुक्त बनाउने प्रयासस्वरुप सन् २०२२ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।

