काठमाडौं । भारतीय मिडियाहरुले नेपालमा राजसंस्था र हिन्दू राज्य कायम गर्ने प्रचार व्यापक रुपमा गरिरहेका छन् । तर, नेपालका मिडियाहरुले भने त्यो विषय उठान गरेको पाइँदैन । भारतीय मिडियाहरुकै आडमा नेपालका राजावादीहरु विभिन्न गतिविधि गरेर सलबलाउन थालेका छन् । चैत १५ गते काठमाडौं तीनकुनेमा भएको घटनालाई पनि भारतीय मिडियाहरुले चासोका साथ उठान गरेका छन् । गैरराजनीतिक पृष्ठभूमिका विवादित व्यक्ति मेडिकल माफिया दुर्गा प्रसाईँलाई तिनै भारतीय मिडियाहरुको बहकाउमा लागेर हिंसात्मक गतिविधि गर्न थालेका छन् ।
प्रसाईंँलाई पनि तिनै भारतीय मिडिहरुले उक्साउने काम गरिरहेका छन् । त्यसकै आडमा दुर्गा प्रसाईँले राजावादीको नाममा आन्दोलन गरेका थिए । दूर्गा प्रसाईले कमान्ड गरेको तीनकुने आन्दोलनले आफू मात्रै बद्नाम भएनन् विस्तारै लोकप्रिय बन्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहकै बद्नाम गराएर छाडे । प्रसाईँकै कारण सरकारले राजा ज्ञानेन्द्रलाई दिँदै आएको सेवा सुविधा पनि कटौती गरेको छ ।
त्योसँगै काठमाडौं महानगरपालिकाले घटनाको जरिवना तिराउने निर्णय गरेको छ । एकातिर राजाको नाममा राजावादीहरुले आन्दोलन गरिरहने अर्कोतिर गणतन्त्रवादीहरुले त्यसको विरोध गरिरहने धन्दा फस्टाएको छ । तर, न राजावादीको आन्दोलनले राजालाई फर्काउन सक्छन् न त गणतन्त्रवादीको आन्दोलनले देश विकास हुन्छ । यी दुवै बेमौसमी बाजा जस्तै बन्न पुगेका छन् ।
भारतीय मिडियाहरुले प्रचार गरेकै भरमा नेपालमा राजसंस्था र हिन्दू राज्य कायम हुने छाँट देखिँदैन । राजसंस्थासहित हिन्दू राज्य कायम गर्नको लागि नेपालको संविधान नै परिवर्तन गर्नुपर्छ । केही छिमिकी मुलुकका मिडिया र नेपालका राजावादीले हल्ला गर्दैमा नेपालमा राजसंस्था र हिन्दू राज्य स्थापना हुने देखिँदैन । राजसंस्थासहितको हिन्दू राज्य कायम गराउन नेपाली कांग्रेस, नेकपा एमाले लगायत ठूला दल र नेपाली मिडिया नै लाग्नुपर्ने हुन्छ । भारतीय मिडिया र नेपालका केही युटुबरको रहरले नेपालमा राजसंस्थासहितको हिन्दू राज्य कायम हुने देखिँदैन ।