काठमाडौं । नेपाली कांग्रेसको भागबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रलाई जति राम्रो, भरपर्दो, चुस्तदुरुस्त र सेवाग्राहीमैत्री बनाउछु भनेर आठ महिना कटाइसकेका छन् । आठ महिनाको अन्तरालमा स्वास्थ्य क्षेत्रलाई चलायमान बनाउन सकेका छैनन् । मन्त्री पौडेलले कामभन्दा पनि भाषणमै सीमित भएका छन् । उल्टै सरुवा, बढुवामा कमिसन खाने र बिनाबजेट विभिन्न रोगको निःशुल्क उपचार गराउने भनेर जनताको आँखामा छारो हालेर सस्तो लोकप्रियता कमाउने काम गर्दै आएका छन् । मन्त्री पौडेलले यसो भनिरहँदा देशैभरी बिनादर्ता र मापदण्डविपरीत साउने च्याउसरी खोलिएका निजी अस्पताल, क्लिनिक र फार्मेसीहरुबाट जनस्वास्थ्यमाथि व्यापक खेलवाड भइरहेको छ ।
यसरी खोलिएका निजी अस्पतालहरुमा अयोग्य चिकित्सक र कर्मचारी भर्ना गर्ने, गुणस्तरहीन औषधि प्रयोग गर्ने, बिनाऔजार बिरामीलाई हचुवाको भरमा औषधि चलाउने, बिरामीको संवेदनाशीलतालाई ध्यान नदिइ जथाभावी उपचार विधि अपनाउने जस्ता क्रियाकलापले जनताको स्वास्थ्यमाथि व्यापक खेडवाड भएको छ । देशका ७५३ वटै स्थानीय तहमा स्वास्थ्य चौकी पु¥याइए तापनि दक्ष जनशक्ति र गुणस्तरीय औषधि नहुँदा बिरामीहरु अलपत्र पर्ने गरेका छन् । तर, स्वास्थ्यमन्त्री पौडेलले देशदौडाहा गरेता पनि बिना दर्ता सञ्चालन गरिएका निजी अस्पताल र स्थानीय तहमा खोलिएकार सरकारी स्वास्थ्य चौकीहरुको अनुगमन गर्न सकेका छैनन् । कतिपय स्थानीय तहका स्वास्थ्य चौकीहरुमा डेट सकिएका औषधिहरु वितरण भइरहेको बताइन्छ ।
सरकारले निःशुल्क वितरण गर्ने ९० प्रकारका औषधिहरु सर्वसुलभ गर्ने भनिए तापनि त्यो गर्न सकेको छैन । कतिपय दूरदराजमा रहेका दीर्घ रोगीहरु औषधि नपाएर भौतारिरहेका छन् । तर, सरकारले त्यस्ता स्वास्थ्य चौकीहरुमा कुन–कुन रोगको लागि के के औषधि पठाइएको छ भन्ने डाटासमेत सार्वजनिक गर्न सकेको छैन । उल्टै स्वास्थ्य सेवा विभागले सर्ने रोग, नसर्ने रोग र दीर्घरोगीहरुलाई निःशुल्क औषधि उपलब्ध गराउने नाममा सेमिनार, गोष्ठी गरेर कर्मचारीको भीड गराई खाना, खाजा र भत्तामा बजेट सिध्याउने काम गरेको छ ।
हरेक महिना स्वास्थ्य सेवा विभागले कुनै न कुनै रोगको नाममा कार्यक्रम गरेर सर्वसाधारणको औषधिको लागि आएको बजेट हिनामिना गर्दै आएको छ । तर, त्यस्ता कार्यक्रमहरु कति आवश्यक हुन् कति अनावश्यक हुन् भनेर मन्त्रालयले अनुगमनसमेत गर्न सकेको छैन । मन्त्री पौडेल भने आफ्नो सचिवालयमा राखिएको अरौटेभरौटे र पूर्वस्वास्थ्यमन्त्री गगन थापाको इसारामा चलिरहेको स्रोतको भनाइ छ । हुन पनि स्वास्थ्य पौडेल ‘मुखियाको काम कहिले जाला घाम’ भन्ने भनाइ चरितार्थ गर्दै दिन कटाइरहेका छन् ।