काठमाडौं । राप्रपाले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा गर्ने भनेको जुलुस र सभालाई बल्खुमा गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खु वा सिफलमा सभा गर्न राप्रपालाई भनेको थियो । राप्रपाले मंगलबारको सभा बल्खुमा हुने र सो सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरुले सम्बोधन गर्ने निर्णय गरेको हो ।
यसअघि चैत २२ गते अपराह्न राप्रपाले भृकुटीमण्डपमा सभा गर्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई इमेलमार्फत् जानकारी गराएको थियो । तर राष्ट्रिय जनमोर्चाको पूर्वनिर्धारित कार्यक्रम र शिक्षकहरुको आन्दोलन पनि भइरहेकाले सुरक्षा संवेदनशीलताका हिसाबले राप्रपाले माग गरे अनुसार भृकुटीमण्डपमा सभा गर्न दिन उपयुक्त नभएको निष्कर्ष जिल्ला सुरक्षा समितिको बैठकले पत्रमार्फत् राप्रपालाई दिएको थियो । त्यसपछि राप्रपाले सभास्थल बल्खु रोजेको हो ।