काठमाडौं । नारायणगढ–बुटवल खण्डको दाउन्नेमा सडक मर्मत तथा विस्तारका लागि आजदेखि अत्यावश्यक बाहेकका सवारी साधनको आउ–जाउ बन्द गरिँदै छ ।
सडक आयोजनाले आज चैत २७ गतेदेखि चैत ३१ गतेसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म चार घण्टा सडक बन्द गर्न लागेको हो । त्यसपछि पनि २०८२ वैशाख १ गतेदेखि वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म ६ घण्टा सडक बन्द गरिने छ ।
यी मिति र समय अवधिमा एम्बुलेन्स, दमकल, प्रहरी लगायतका अत्यावश्यक सेवाका सवारी साधनलाई भने रोक लगाइने छैन । बर्खायाम सुरु हुनुभन्दा अगाडि नै राजमार्गमा सहज यात्राका लागि दाउन्ने खण्डमा सडक बन्द गरेर सडक विस्तारको काम गर्न लागिएको हो ।
अत्यन्तै संवेदनशील र जोखिम क्षेत्र मानिने दाउन्नेमा पहाडको भित्ता काट्ने, पर्खाल लगाउने तथा कल्भर्टका कामहरू भैरहेका छन् । साँघुरो सडक र कामसमेत भैरहेकाले अहिले दैनिकजसो यात्रुहरूले दुःख पाइरहेका छन् । दाउन्ने खण्डको १३ किलोमिटर पार गर्न अहिले सवारी जामले ५ देखि ६ घण्टा लाग्ने गरेको छ ।