काठमाडौं । दुर्गा प्रसाईंलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरेर नेपाल ल्याइँदै छ ।
उनी झापाको काँकडभिट्टा नाका हुँदै भारत पसेको सूचना पाएपछि प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा खोजी जारी राखेको थियो । उनलाई खोज्न नेपाल प्रहरीका तीन विशेष टोली भारत नै पुगेको सुरक्षा स्रोतले जनाएको हो ।
उनलाई आज आसामको गुवाहिटी हुँदै झापा ल्याउने र त्यहाँबाट काठमाडौं ल्याउने स्रोतले बतायो । झापाको काँकडभिट्टास्थित सीमा क्षेत्रमा प्रसाईं पारिवारका सदस्य र केही समर्थहरूले अवरोध गर्ने सुरक्षा विश्लेषणको आधारमा नाका परिवर्तन गरेर उनलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याउने प्रहरीको तयारी रहेको छ ।
प्रहरीले भने विहीबार विज्ञप्ति जारी गर्दै दुर्गा प्रसाईं भारतमा पक्राउ परेको समाचारलाई खण्डन गरेको थियो । प्रसाईंको सचिवालयले भने उनले आसाम प्रहरीमा आत्मसमर्पण गरेको दाबी गरेको छ ।
राजसंस्था पुनर्स्थापनाका लागि भन्दै संयुक्त जनआन्दोलन परिचालन समितिले तीनकुनेमा चैत १५ गते गरेको प्रदर्शनको मुख्य कमाण्डर दुर्गा प्रसाईं थिए । सो प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु भएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।
त्यसपछि प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं फरार भएका थिए । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए ।
प्रसाईंलाई काठमाडौं ल्याएर संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव लगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरी तयारी छ ।