काठमाडौं । कांग्रेस र एमालेको गठबन्धन सरकार बने तापनि सर्वसाधारण जनताले त्यसको अनुभूति गर्न पाएका छैनन् । सरकारलाई विचौलिया र माफियाहरुले आफ्नो जालभित्र पारिराखेका छन् । सहकारी ठगीको बिगबिगी भएपछि सहकारी संस्था बन्द हुँदा सर्वसाधारणले बचत गर्न र ऋण लिन पाएका छैनन् । सानोतिनो ऋण नपाएपछि पशुपालन, कृषि उत्पादन र व्यापार व्यवसाय गर्न पाएका छैनन् । दुई तिहाई हाराहारी बहुमतको सरकारले दुरदराजका सर्वसाधारणलाई अनुभूति हुने गरी कुनै जनमुखी कार्यक्रम ल्याउन सकेको छैन ।
खाली दुई पार्टीका नेता र मन्त्री वरिपरि घुम्ने कार्यकर्तालाई पोस्ने काम बाहेक एमाले कांग्रेस सरकारले अन्य काम गर्न सकेको छैन । उता, दुरदराजका सर्वसाधारण जनताले भने समयमा पानी नपरेर खेतीपातीको काम गर्नसमेत पाएका छैनन् । लामो समय खडेरी पर्दा खानेपानीको समस्या यत्तिकै छ । मकै छर्ने सिजन जान लागिसक्दा समेत पानी परेको छैन । उता मलखात र बिउवीजनको समस्या त्यत्तिकै छ । एमाले कांग्रेस सरकार बन्नु अगाडि देशमा सुशासन लागू गर्ने, आर्थिक समृद्धि ल्याउने, सर्वसाधारणलाई अनुभूति हुने गरी काम गर्ने भनिए तापनि सरकार बनेको नौ महिना बितिसक्दा पनि सर्वसाधारण जनताको पक्षमा एउटा पनि काम गरेको पाइँदैन ।
उल्टै २०, २५ जना उद्योगी, व्यापारीहरुले आर्थिक चलायमान बनाउने नाममा सरकारलाई गुमराहमा पारिराखेका छन् । हुँदाहुँदा नेपाल राष्ट्र बैंक जस्तो सम्वेदनशील संस्थामा गभर्नर नियुक्ति गर्न महिनादिन बितिसक्दा पनि सकेको छैन । एकातिर एमाले र कांग्रेसबीच पैसाको भागबन्डाको विवाद छ भने अर्कोतिर उद्योगी, व्यापारीहरुले आफ्नो अनुकूलको मान्छे गभर्नर बनाउन खेलोफड्को गर्दा राष्ट्र बैंकले गभर्नर पाउन सकेको छैन ।
आर्थिक, सुशासन र राष्ट्रिय हितमा काम गर्ने भनेर एमाले र कांग्रेसको सरकार बनेको थियो । दुई ठूला दल मिलेर बनेको बहुमतको सरकारले एउटा गभर्नर नियुक्ति गर्न नसक्दा जनतासामु सरकार ओलोचित बन्दै गएको छ । विचौलिया दीपक भट्टको डिजाइनमा गभर्नर बनाउने योजना पनि भित्रभित्रै चलिरहेको छ । दुई तिहाई बहुमतको सरकारले गभर्नर नियुक्ति गर्न नसक्दा जनतासामु लाजमर्दो स्थिति सिर्जना भएको छ । विचौलिया दीपक भट्टको डिजाइनमा यो सरकार चलिरहेको छ । भट्टकै कारण गभर्नर नियुक्तिमा पनि ढिलासुस्ती भइरहेको छ ।