काठमाडौं । नेपाली सिनेमा क्षेत्र हलिउड, बलिउड भन्दा सानो मानिन्छ । ग्लोबलका हिसाबले होस् या स्थापनाको हिसाबले सानो भएपनि राजनीतिक, निजी स्वार्थ, कोभिड–१९ जस्तो कारणले गर्दा चलचित्र क्षेत्रले उतार–चढाबको सामना धेरै खेप्नु परेको छ । हुन, त कोभिडको कारण विश्वको चलचित्र क्षेत्र मात्र नभई अर्थतन्त्र नै धरापमा परेको थियो । सबै कुरा सामान्य हुँदै जाँदा, बलिवुड, हलिवुड क्षेत्र सामान्य मात्र होइन उनिहरुले रेर्कड ब्रेक गर्ने खालका त्यसपछि अविस्मरणीय फिल्मको निर्माण समेत गरेर आफ्नो देशमा थुप्रै आर्थिक वृद्वि भित्र्र्याउन पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।
तर, नेपालको चलचित्र क्षेत्रमा आर्थिक वृद्विमा भने खासै योगदान दिन सकिरहेको छैन । तर २०८१ सालको अन्त्यसम्म आइपुग्दा पूर्णबहादुरको सारंगी, १२ गाउँ, छक्कापञ्जा ५, बोक्सीको घर, अञ्जिला, पूजार सार्की यस वर्षको अविस्मरणीय मात्र नभई व्यवसायी रुपमा सफल फिल्म बन्न पुगेको छ ।
विश्वको चलचित्र क्षेत्र भन्दा नेपालको चलचित्र सानो भएता पनि सायद हाम्रोले जति अरु कुनैपनि देशको चलचित्र क्षेत्रले असफलता, अस्थिरता , राजनीतिक हस्तक्षेप जस्तो सामना गर्नु परेको छैन । नेपाली चलचित्रमा कस्तो ट्रेन्ड विकास भैरहेको छ, भने निर्देशकले फिल्ममा आफ्नो शैलीभन्दा पनि अरुको र्फमुला प्रयोग गर्ने, कसरी हुन्छ थोरै लगानीमा आफ्नो काम टार्ने, अनुभव नभएकालाई अवसर दिइने, विषय बस्तुमा खासै ध्यान नदिने भएकोले द्वन्द्वकालीनको अवस्था भन्दा पनि अहिलकोे अवस्था भयावह बन्दै गइरहेको देखिन्छ ।
विश्व चलचित्रले आधुनिक उपकरण भित्र्याई सक्दापनि हाम्रो नेपालमा उपकरण भित्रिएका छन् तर न्युन रहेका छन् । हाम्रो चलचित्र क्षेत्र आधुनिक उपकरणको प्रयोगमा पनि धेरै पछाडि नै परिरहेको छ । यदि अहिलेकै गति र दिशामा नेपाली फिल्म अगाडि बढिरह्यो भने भोलिको दिन कस्तो होला भन्ने विषयमा कौतुहलता छाउने भएको छ । नेपाली फिल्मलाई घरेलु दर्शकले पटक्कै विश्वास गर्न छाडेका छन् । यस्तो बेला राम्रा र अब्बल फिल्महरु पनि छायामा पर्दै गएका छन् । समग्र फिल्म उद्योगीहरु नै धरायसी बनदै गइरहेका छन् । त्यो भनेको खतराको घण्टी हो ।
नेपालमा बनेको पहिलो चलचित्र सत्य हरिश्चन्द्र बनेको थियो । जुन भारतमा २००८ सालमा नेपालीमा डबिङ्ग गरिएको थियो । त्यसपछि २०२२ साल असोजमा आमा चलचित्रबाट आधिकारीक रुपमा शुरु भएको थियो । नेपाली चलचित्रको यात्रा लगभग ५९ वर्ष पुरा गरी ६० मा प्रवेश गरेको छ । २०३६ पछि धेरै रचनात्मक चलचित्रहरु बने जो सफल पनि भए । जसका कारण धेरै निर्माण कम्पनीको आगमन भयो । धेरै सिनेमा बन्न थाले सम्झना, कुसुमे रुमाल, लाहुरे, कान्छी, वासुदेव, साइनो र कोशेली जस्ता फिल्मले सफलता प्राप्त गर्यो । त्यसबेला भुवन के.सी र तृप्ती नाड्करको जोडिलाई स्वर्णिम जोडिको रुपमा चिनिन्थ्यो । केही वर्षपछि राजेश हमाल र करिश्मा मानन्धरको आगमन भयो । त्यतिबेलासम्म नेपाली सिनेमा बजारको बिस्तार भयो र नेपाली निर्माताहरु हिन्दी चलचित्रको प्रभाव कम गर्न सफल भएका थिए ।
२०५१ साल पछि चलचित्र क्षेत्रमा ओरालो लाग्यो कारण माओवादी जनयुद्वको असर चलचित्र क्षेत्रमा पुग्यो । दर्शक घट्न थालेपछि केही कलाकारहरु विदेश पलायन भए भने, केही कलाकार कहि कतै काम गर्न थाले । राजनीतिक वातावरण र माओवादी मुलधारको राजनीतिमा २०६३ तिर आएपछि नेपाली चलचित्र क्षेत्रमा पनि केहि सकारात्मक देखियो तर २०४६ को जस्तो प्रवल प्रभुत्तो चलचित्र क्षेत्रले जगाउन सकेनन् । दर्शकहरुलाई बलिउड क्षेत्रको चलचित्रले यसबेलासम्म गहिरो छाप छोडिसकेको थियो । त्यसबेला देखि लिएर आजको मितिसम्म आइपुग्दा बलिउड मात्र नभएर हलिउडको स्वाद परिसकेका दर्शकहरुलाई आफ्नो विषय बस्तुको चलचित्र पेश गर्न फलामको चिउरा चपाउनु झैं भएको छ ।
हुन त आफ्नो विषय वस्तु बलियो छ, भने दर्शकहरुले साथ दिएका उदाहरुणहरु पनि छन् । पछिल्लो समय नेपाली चलचित्रले केही राम्रो काम पनि गरेको छ । तर, जति मात्रामा गर्नुपर्ने हो त्यो गर्न सकेको छैन । त्यसमा माछो,माछो भ्यागुतो भए झैं भएको छ । यसमा अर्को चुनौती के–छ भने नेपालमा सिनेमा हलहरु पनि सीमित भएकोले हलिउड, बलिउडकै बर्चश्व रहि रहेता पनि वास्तविक समस्या भने ज्युँका त्युँ नै छन् । तर, त्यसो भन्दैमा नेपाली फिल्म चल्दैन वा नेपाली फिल्मले हलिउड, बलिउडका दर्शकलाई आफुतिर तानिदैन भन्ने चाहि होइन । दर्शकलाई विषय, बस्तुसँग आफ्नो मौलिकता देखाउन सक्यो भने त्यसले सफलता हासिल गर्न सक्छ ।