दलहरुले आलोपालो नेपालको शासन सत्ता चलाउन थालेको लगभग ३७ बर्ष पुग्यो । यतिलामो सत्ता चलाउन पाउँदा पनि दलहरुले नेपाली जनताको पूर्ण भरोषा जित्न सकेको छैन । दलहरुले समृद्ध नेपाल र सुखी नेपाली जनताको नारा बेलाबेलामा लगाउने र प्रचार प्रसार गर्ने गरेको भएता पनि सोअनुसार व्यवहारमा बिकासको काम गरी देखाउन नसकेको हुँदा नेपाली जनताको मनमा पहिले भ्रम फैलाएर आर्जन गरेको भरोषा पनि राजनीतिक दलहरुले गुमाउँदै गएकाछन । राजनीतिक दलहरु पहिले सत्तामा आउने बेलामा नेपाली जनताले राम्रो सित सोच्न पाएन । माओवादीले गरेको १० बर्षे जनयुद्धबाट नेपाली जनता त्रस्त र आजित भएका थिए । त्यसकारण नेपालमा शान्ति हुन्छ वा आउँछ भनेपछि नेपाली जनताले माओवादीलाई नै भोट हाल्न तयार भएका थिए ।
त्यसरी माओवादी दललाई भोट हाल्नु पछाडिको कारण माओवादी दल प्रतिको भरोषा नभएर त्रासले नै थियो । गाउँ गाउँमा पसेर शिक्षकहरुलाई मार्ने, गाई काटेर खाने, हिन्दू मठ मन्दिरहरु भत्काउने, बुज्रुक वर्गलाई डराउने धम्काउने कार्यहरु माओवादीले गर्न थालेपछि जीउधनको सुरक्षा खोज्दै आम नेपाली जनता जिल्ला सदरमुकाम हुँदै ठुला सहरहरुमा सरण लिन पुगेका थिए ।
यहि खिचातानीको क्रममा १७ हजार नेपाली जनताको माओवादीले चलाएको १० बर्षे जनयुद्धमा ज्यान गयो । आम चुनावमा माओवादी पार्टीलाई नेपाली जनताले भोट हाले पनि त्यो माओवादी प्रतिको भरोषाको भोट थिएन । माओवादीले नेपाली जनताको मनमा फैलाएको डर त्रासको कारण यदि नेपालमा शान्ति फर्किन्छ भने एक चोटीको लागि माओवादीलाई भोट हालेर हेरौ भन्नको खातिर नै थियो । एक प्रकारले त्यो नेपालमा शान्तिको लागि नेपाली जनताले गरेको त्यागको परिणाम नै थियो । त्यसै गरी राजा ज्ञानेन्द्रले पनि नेपाली जनताको हितलाई हेरी नेपालमा शान्ति कायम होस भन्ने महान सोच र त्यागले प्रेरित भएर नेपालको राजकिय सत्ता शान्तिपूर्वक दलहरुलाई संबिधान सभावाट राज्यको मुल कानुन संबिधान बनेर नआएसम्मको लागि अस्थायी रुपमा हस्तान्तरण गरिएको थियो ।
चुरो कुरो के थियो भने संबिधान सभाबाट बनेको संबिधानले नेपाली जनताको, दलहरुको र राजाको भूमिकाहरु तोकेर निश्चित पार्ने र सोही अनुसार नेपालको शासन व्यवस्था चल्ने चलाउने भनिएको थियो । दलहरु मद्धेका माओवादी दलका नेता प्रचण्डलाई उहाँहरु १० बर्षे जनयुद्ध लडेर आएका हुँदा नेपालको शासन व्यवस्था उहाँहरुले भनेको जस्तै हुनु पर्ने भन्ने दम्भबाट निर्देशित थिए । संबिधान सभाको २ कार्यकाल लगाएर अबौं लगानी गरी मुस्किलले नेपालको संबिधान २०७२ बनाए पनि उक्त संबिधानमा २४० बर्ष लामो इतिहास भएको राज संस्थाको लागि कुनै ठोश भूमिकाको व्यवस्था गरिएन ।
जाहेर नै छ त्यसरी नै वैदिक सनातनी हिन्दूधर्मलाई पनि धर्मनिरपेक्षताको आडमा पाखा लगाईएको थियो । त्यसको परिणाम के निस्कियो भन्ने कुराहरु अहिले आएर सबै जगजाहेर नै भईसकेको छ । २४० बर्ष लामो इतिहास भएको राजा संस्था एक्लो थिएन । नेपाल राष्ट्रको स्थापना नै गरेको राज संस्थाको साथमा धेरै नेपाली जनताहरु पनि थिए । त्यो बेला माओवादी दलको डर त्रासले गर्दा शान्तिको लागि राजा पक्षका नेपाली जनता चुपै लागी बसेका थिए । अब आएर राज संस्था बिरुद्ध दलहरुले षडयंत्र गर्न थाले पछि राजा पक्षका नेपाली जनताले भटाभट मुख खोल्न थालेका छन । त्यति मात्र होइन राजाको पक्षमा नेपाली जनताले चुनेका जनप्रतिनिधि साँसदहरुले नेपालको संघिय संसद र संघिय राजधानी काठमण्डौको सडकहरुलाई तताई रहेकाछन ।
एमाले, नेपाली काँग्रेस र माओचादी दलका शीर्ष नेताहरु ओली, देउवा र प्रचण्डको मनमा ढ्याङ्ग्रो बज्न थालेको छ । त्यहि भएको हुँदा उहाँ नेता त्रयले मिलेर भित्रभत्रै राजावादी–राष्ट्रवादीहरुको शान्तिपूर्ण जुलुश र रैलीलाई भाँड्नको निमिक्त प्रतिकार जुलुशहरु र रैलीहरु गरेका छन् र गाउँ गाउँमा छिरेर जनपरिचालन कार्यक्रमहरु चलाईरहेकाछन ।
यहि क्रममा उहाँहरुले राजावादी–राष्ट्रवादीहरुले व्यवस्थापन गरेको तीनकुनेको शान्तिपूर्ण सभालाई भाँड्नको निमिक्त सकुनी पाराले घुसपैठ गरी छलकपटको मार्ग अपनाएर बिथोल्ने संघातित प्रयास पनि गरीसकेका छन् । यो घटनाबाट सत्तामा भएका राजनीतिक दलहरु प्रगतिशील वा क्रान्तिकारी नभएर प्रतिक्रियवादी हुन भन्ने कुराको पुष्टी भएको छ । दलहरुले जेजस्तो सपना नेपाली जनतालाई सत्तारोहन गर्नु भन्दा पहिले देखाएका थिए त्यो सबै बिर्सेका वा भुलेकाछन । दलका सबै ठुला साना नेताहरु देखि लिएर राजनीतिक कार्यकर्ताहरु समेत आफ्ना सुरुका सबै बाचाहरु भुल्दै भ्रष्टाचारमा लिप्त भएर नै लागेका छन् ।
घरजग्गाको दालाल, सुन तस्कार, मानव तस्कर, मुद्रा तस्कर, नाफाखोर, सुद्खोर देखि लिएर माफिया, बिचौलिया, कमिसनखोर सम्म दलका नेताहरु र कार्यकर्ताहरु नै छन । नेपाली जनताले उनीहरुलाई कमाउनिस्ट र खाओवादीको नामले पुकार्ने अनि चिन्ने गरेकाछन ।
यस्ता दलहरुको भ्रष्ट नीतिहरु कै कारण नेपालमा वेरोजगार भएपछि आर्थिक रुपले सक्रिय रहेका नेपालका युवापिढी रोजगारी खोज्दै हुलका हुल बिदेश पलायन भईरहेकाछन । दलहरुले मिलेर बनाएको सरकारले उद्योग बिकासमा लगानी नगरी उल्टै चल्दै गरेका उद्योगहरुलाई पनि निजीकरण गरी बन्द गराउन थाले पछि नेपाली युवापढीले रोजगारीको लागि विदेश पलायन हुन बाहेक अन्य विकल्पहरु पाउन सकिरहेको छैन ।
नेपालबाट युवापिँढी कामको खोजीमा बिदेश पलायन हुन थालेपछि नेपालको परिवारिक सामाजिक संरचना बिथोलिएको छ भने काम गर्न सक्ने उमेरका परिवारिक सदस्यहरु घरमा नहुँदा परम्परागत रुपमा हुँदै गर्दै आएको खेतीपाती बन्द हुनगएकाले जग्गाजमिन सबै बाँझै छन भने सबैको हालत किनेर खानु पर्ने नाजुक परनिर्भर अवस्थामा परिनत भइसकेको छ ।
दलहरुले नेपाल राष्ट्रलाई २७ खर्व ऋणमा डुबाउनको साथै १३ खर्बको वेरुजु बनाईसकेकाछन । यसैबाट बुझिन्छ कि राजनीतिक दलहरु अति भ्रष्टाचारी र आर्थिक अनुशासनहिन छन । राजनीतिक दलहरु सुनीति अनुसार सुशासन गर्ने भन्दा पनि शीर्ष नेताहरुको सुरुची अनुसार शासन सत्ता हाँक्ने गर्दै आएकाछन । यसले गर्दा नेपाल जस्तो अनेक श्रोत साधनहरु सहित प्राकृतिले नै सजाएको उर्वारक भूमीले युक्त महान राष्ट्र नेपाललाई बिघटनको मार्गमा धेरै अगाडि राजानीतिक दलहरुले पुर्याईसकेका छन । वैदिक सनातनी हिन्दूधर्मको उद्गमस्थल, ऋषीमुनीहरुको तपोभूमि र अनेक देवी देवताको निवासस्थान भएको नेपाल राष्ट्रको दुर्गती दलहरुको अदुरदर्शी नीतिहरु कै कारण भएको हो । दलहरुको यस्तो करामतलाई देखीसके पछि नेपाली जनताको दलहरु माथिको भरोसा बढ्ने कुरै भएन । दिनदिनै राजनीतिक दलहरु माथिको नेपाली जनताको भरोषा घटेर नै गईरहेकोछ ।
त्यसको साथै नेपाली जनताले २४० बर्ष लामो समय सम्म नेपालका सानासाना राज्यहरुको एकिकरण गरी नेपाल राष्ट्र बनाउन योगदान गरी इतिहास रचीसकेको शाहबंशिय राजा प्रति भरोषा बढाउँदै लगेका छन् । यो भन्दा पहिले पनि १०४ बर्ष सम्म राजपरिवारलाई कठपुतली बनाएर नेपालमा निरंकुश शासन गर्दै आएका राणाबंशका परिवारिक शासनसत्तालाई फाल्नको निमिक्त नेपाली जनता र शाहवंशिय राजा एक साथ भएका थिए । अब आएर नेपाल राष्ट्रलाई राजनीतिक दलहरुको महाभ्रष्ट र सूरुचीको शासन सत्ताबाट मूक्त पारी नेपाल राष्ट्रलाई बिघटन हुनबाट जोगाउने महान उद्देश्य लिएर नेपाली जनता र राजा एक ढिक्का हुने क्रम जारी छ ।
यतिबेला राजा र नेपाली जनता संयुक्त भएर नेपालको संघिय सदन र सडक दुबै स्थानमा धावा बोले पछि दलका शीर्ष नेता त्रयको सातो उडीसकेको छ र अतालिएर अब आफ्ना महाभ्रष्ट शासन सत्तालाई कसरी सुरक्षित राख्ने भनी उहाँहरुको बिच पनि ध्रुवीकरण बढेर गएको देखिन्छ । यता नेपाली जनता, राजा र राजातंत्रवादीहरुका बिच पनि ध्रुबीकरण हुने क्रम जारी रहेकोछ ।
उता राजनीतिक दलहरु सित पनि नेपाली जनता छैन भन्ने होइन छन तर तिनीहरु झोले भतुवा राजनीतिक दलका कार्यकर्ताहरु रुपमा मात्रै संलग्न छन् । दलहरु सित ३७ बर्ष लामो शासन सत्ता चलाएको अनुभव छ । यो बिचमा उहाँहरुले बिदेशीको दलालको रुपमा मात्रै नेपालको सत्ता चलाएका हुँदा दलहरु राष्ट्रवादी नभएको प्रामाणित भईसकेकाछन । दलहरुको तुलनामा राजतंत्रवादी सित २४० बर्ष लामो सत्ता चलाएको अनुभव छ । त्यो बिचमा नेपाल राष्ट्रलाई जोगाउनको निमिक्त राजतंत्रवादीहरुले अंग्रेज जस्तो बलवान शत्रुसित युद्ध लडेर त्यसलाई नराम्रो सित हराएपछि संधी गरी नेपाल राष्ट्रलाई सुरक्षित राख्ने काम गरेको छ । यस्तो राष्ट्रवादको महान उदाहारण ३७ बर्ष नेपालको शासन सत्ता हाँकेका दलहरु सित सिला खोज्दा पनि पाउन सकिन्न ।
नेपालका राजनीतिक दलहरुले नेपालमा बिदेशीको दलाल प्रतिनिधि बनेर शासन व्यवस्था चलाउँदै आएको हुँदा उहाँहरु नेपाली जनताको नजरमा राष्ट्रघाती पनि हुन । कसै गरेपनि राष्ट्रवादको सवालमा नेपालको राजनीतिक दलहरुले राजतंत्रको बराबरी कहिले पनि गर्न सक्दैन । राजतंत्रले २४० बर्ष सम्म नेपालमा शासन सत्ता चलाएर नेपाल राष्ट्रको अस्तित्व जोगाउने सवालमा शतप्रतिशत सुरक्षाको प्रत्याभूति व्यवहारिकमा नै दिएकाछन भने राजनीतिक दलहरुले ३७ बर्षको छोटो अवधिमा नै नेपाल राष्ट्रको अस्तित्व माथि खतरा पैदा गरीसकेका छन् । राजनीतिक दलहरुले २४० बर्ष लामो राजतंत्रको इतिहासलाई मेटाउन खोजेर आफ्नै लागि ठुलो राजनीतिक खाडल खानेको हुँदा त्यही खाल्डोमा पुरिएर अब राजनीतिक दलहरु आफै समाप्त हुने निश्चित भएको छ ।