युवा शब्दको उच्चारण गर्दा नयाँ जोस, जाँगर, देशको मेरुदण्डको आधारले भरिएको शब्दलाई जनाउँछ । राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्ष उमेर समूहलाई युवा निर्धारण गरेको छ ।
उमेरगत रूपमा १६ देखि ४० वर्षको उमेरलाई युवावस्था भनिए तापनि २५ देखि ४० वर्षको उमेर नै सशक्त युवा अवस्था हो । त्यसपछिको उमेरमा शारीरिक शक्ति क्षीण हुँदै जाने प्रक्रिया सुरु हुने प्राकृतिक नियम भएकाले ४० देखि ६० वर्षसम्मको उमेरलाई प्रौढ अर्थात् परिपक्व उमेर मानिन्छ । यसैगरी ६० वर्ष भन्दा माथिको उमेरलाई ज्येष्ठ नागरिक (वृद्ध) र ८० वर्षभन्दा माथि वयोवृध्दावस्थामा वर्गीकरण गरिएको छ । ४० देखि ६० वर्षसम्मको उमेर परिपक्व उमेर भएकाले आफूसँग भएको ज्ञान, सीप, दक्षता, अनुभव अरूलाई बाँड्दै निर्देशकको भूमिका निर्वाह गर्ने उमेर हो । यसरी विभिन्न दृष्टिकोणको हिसाबले हेर्दा उमेरगत रुपमा वर्गिकरण गरिएको पाइन्छ ।
युवावस्थामा किशोर अवस्थामा प्राप्त गरेको ज्ञान, सीप, दक्षता तथा योग्यतालाई व्यवहारमा उजागर गर्ने ऊर्जा प्राप्त हुने अवस्था भएकोले मानिस शारीरिक तथा मानसिक रूपले परिपक्व, सक्षम, क्षमतावान् भई भविष्य निर्माणमा योग्य नागरिकको रूपमा आफूलाई स्थापित गर्ने उद्देश्यले नवीनतम सोच विचारको चिन्तन मनन् गर्ने गर्दछन् । यो अवस्थामा खोज, अनुसन्धान,अनुशरण गर्ने व्यग्र आकाङ्क्षा, अभिरुचि, कौतुहलता, जिज्ञासा तीव्र रूपमा मन मस्तिष्कमा प्रवाह हुने उमेर भएकोले नै शारीरिक तथा मानसिक रूपमा सक्रियतापूर्वक आफूलाई स्वतःस्फूर्त परिचालन गर्दछन्। ठूला–ठूला परिवर्तनका बेगहरुमा युवाले निवार्ह गरेको भूमिका अतुलनीय रहेको छ । विश्व युवा विकास सूचाङ्कमा नेपाल १४५ औं स्थानमा पर्न गएको छ । देशले चाहिँ युवाको लागि के–योगदानको चट्टान फोड्यो भन्नेमा ठूलै बादविवाद चलिरहेको छ ।
युवाहरूलाई नै लक्ष्यित गर्दै महान गुरु क.माओले ‘यो संसार तिमीहरुको पनि हो, हाम्रो पनि हो, तर अन्त्यमा तिमीहरुकै हो’ भनेर संश्लेषण गरेका छन् । उनि एक चिनियाँ क्रान्तिकारी, राजनीतिक विचारक र साम्यवादी दलका नेता थिए । भने अर्का महान एक प्रसिद्ध दार्शनिक कार्ल माक्र्सले ‘युवाहरू हो! जिते संसार छ, हारे केही पनि छैन’ भनेर क्रान्तिको ज्वारभाटा बालेका थिए । उनको विचार र सिद्धान्तको आधारमा वर्तमान साम्यवाद (कम्युनिज्म) को जन्म भएको मानिन्छ ।
नेपालमा युवाका लागि शिक्षा, स्वास्थ्य र रोजगारीमा राम्रै मेहनत गर्नुपर्ने देखिन्छ ।
देश विकासको मूल प्रवाहमा यो जनसंख्या पूर्ण रुपमा समावेश हुनुपर्ने देखिन्छ । तर हाम्रो युवा जनशक्ति रोजगार वा गुणस्तरीय शिक्षाको खोजीमा विदेश जाने पुरानै संस्कार र नेतृत्वबीच लाचार भएर यथास्थितिमा बस्न बाध्य छन् । विश्वमा जति पनि ठूला राष्ट्र रहेका छन् सबैलाई आफ्नो श्रम,शक्ति देशमै लगानीका लागि राज्यले ठूलो लगानी गर्ने गरेको छ । भने नेपालमा त्यसको उल्टो नीति रहेको छ । नेपाल सरकारलाई कसरी देश भित्र आर्थिक रेमिट्यान्स बढि भित्र्याउनेको मात्रै ध्यान रहेको छ । त्यस पक्षलाई म नराम्रो चाहिँ भन्दिन तर, अरुको मुख ताकेर चाहिँ कसैको घरको विकास भएको रेकर्ड छैन ।
अरुल देशले जति गरेता पनि हाम्रो देशले माखो मार्ने काम गर्न सकेको छैन । सरकारले आफ्नो देशको लागि नागरिक, सरकार आफैंले गर्नुपर्छ विकासको कार्यमा हातेमालो । नेपालबाट बर्षेनी ८० लाख व्यक्ति श्रम, शक्ति विदेशी भूमिमा श्रम बेचि रहेका छन् । दश प्रतीशत अर्थात ५० हजार व्यक्तिले रोजगार पाउन मुस्किल छ । बाँकी ९० प्रतिशत व्यक्ति बर्सेनी बेरोजगारको सूचीमा छन् । यो हेर्दा हामी कस्तो डरलाग्दो अवस्थामा छौँ भन्ने यस तथ्याङ्कले पुष्टि गरेको छ । पछिल्लो समयमा युवा पुस्तामा राजनीतिक हस्तक्षपले देशमा आतङ्क मचाई रहेको छ । पाइलै पिछे हस्तक्षेपका कारण नेपालमा तबाहि मचिएको छ । नेपालमा भएका युवाहरुले केही गर्न खोजे प्रत्येक पाइलामा कानून,डकुमेन्ट, सामाजिक झन्झट्को भारले थिचिनै रहेका छन् ।
अर्को समस्या भनेको राज्यले उत्पादनशील जनशक्तिलाई परिचालन गर्न सकेको छैन । देशमा दिनदाहारै युवा वर्गहरु चोरी, डकैती ,कुटपिट, हत्या, हिंसा, लागू औषध र बलात्कार जस्ता आरजक, उत्श्रृंखल गतिविधिहरुमा पछिल्लो समय युवाहरुको ठूलो जमात नै भेटिएको छ । यसमा तपाईं,हामी सबैको दायित्व रहेकोले कसरी युवाहरुलाई सकारात्मक दिशानिर्देशन दिन ढिलो भईसकेको छ । त्यसैले बेलैमा हामी सचेत भई देशका लागि केही गर्ने वातावरणको श्रृजना गर्न सक्नुपर्छ । आजका युवा पुस्ताहरुले नै हो, भोलिका सन्ततीका लागि मानचित्र कोर्ने ।
युवा पुस्ता भनेको जिम्मेवारीको काध रहेकोले हिजोको युवाले आजका युवाको लागि गरेको संघर्षको बाटोलाई हामीले कति गर्वका साथ लिने गरेका छौं । हाम्रो काधमा यति ठूलो जिम्मेवारीको पाटो रहेकोले हामीलाई हिजो पुस्ताको जस्तै भोलिका पुस्ताको लागि रोल मोडल बन्नु हो । राष्ट्रको खातिर खम्बाको काम गर्ने विचारले संसारलाई हाक्ने आँट भएका युवाहरुलाई स्वदेशमै रोजगारीको श्रृजना गरिनु पर्दछ । आफ्नै देशमा युवा वर्गलाई क्षमता, योग्यता र सीप अनुसारको काम र काम अनुसारको पारिश्रमीकको व्यवस्था गरी सबै बाहिर गएका युवा जनशक्तिलाई स्वदेश फर्किने वातावरण राज्यले बनाउनु पर्दछ ।
वास्तवमा, युवाहरू नै राष्ट्रको परिवर्तनगामी शक्ति हुन्। त्याग, निष्ठा, बलिदान र नवनिर्माणको सुन्दर भावनाद्वारा प्रतिबद्ध युवाहरू राष्ट्रको अमुल्य निधि एवम् उदयीमान् शक्ति मानिन्छ । युवाहरू स्वभावैले विद्रोही हुन्छन्। उनीहरुको नशा–नशामा क्रान्तिकारी परिवर्तनको नविन उर्जाहरु सल्बलाईरहेको हुन्छ ।
यथास्थितिबाट आफू र आफ्नो समाजमा मुक्ति दिँदै सामाजिक रुपान्तरणको महाअभियानमा समेत युवा वर्गले अग्रिम भूमिका निर्वाह गरिरहेका हुन्छन्।
देश समृद्ध बनोस् र सबै नेपाली सुखी बनोस् भन्ने नयाँ परिकल्पनासहित नयाँ नेपालको निर्माणमा युवाहरु जुट्ने बेला भएको छ ।
राजनीतिक कित्तामा बाँडिएर होइन एकतामा बाँधिएर युवा वर्गले अविचलित कदम चाल्ने बेला हो यो । यो राष्ट्रले युवा वर्गबाट धेरै कुराको अपेक्षा गरेको छ । त्यो अपेक्षालाई पुरा गर्न युवाको दायित्व भएको छ । स्वदेशमा अवसर पाइएन भन्दै मनमा राज्यप्रति घोर निराशा बोकेर विदेशिने युवालाई यहीँ केही बन्ने अवसर प्रदान गर्दै समृद्धिको अभियानमा सहभागी गराउन सकियो भने देश समृद्धि बन्न धेरै समय लाग्दैन । युवाले सपना मात्रै देख्नुपर्छ । युवाको सपना साकार हुने अवधारणा पुरा भएको हाम्रो इतिहास नै साक्षी बनेको छ ।
विश्व इतिहासको पानामा नेपालको गौरवमय इतिहासलाई फर्केर हेर्ने हो भने विसं. १९९६ को राणाविरोधी आन्दोलनमा गंगालालहरुको भूमिकादेखि २००६, २०१५, २०३६, र २०४६ को जनआन्दोलन देखि विसं. २०५१ मा संचालित सशस्त्र जनयुद्ध र मुख्यतः २०६२÷६३ को जनआन्दोलनमा युवाहरुको योगदान अतुलनीय भूमिका रहेको थियो । यसमा युवाको संलग्न नभई दिएको भए सायद इतिहासले अर्कै मोड लिन्थ्यो होला ?
मूलतः विगतदेखि वर्तमानसम्म आइपुग्दा जनमुक्ति जनजीविका अनि राज्य स्वाधीनताका लागि निरंकुश शासनका दानवीय छायाँलाई परास्त गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको विशाल राजमार्ग निर्माण गर्ने कार्यमा नेपाली युवाहरूले प्रदर्शन गरेको वीरता विश्वकै लागि अनुपम एवम् ऐतिहासिक सन्देश बन्न पुगेको थियो । यस्ता इतिहासका कठिन मोडमा समेत विचलित नभईकन राष्ट्र निर्माणको महा–अभियानमा समर्पित बन्न चाहने अपरिमित शक्ति र सामाथ्र्यका धनी नेपाली युवाहरूले आज बेरोजगारीको पीडासँगै स्वदेशको माटोमा भन्दा विदेश यात्राको लामो बाटो तताउन विवश बनेका छन् ।