हलोले जोत्ने र डोको हँसिया प्रयोग गर्ने मान्छे ‘विज्ञ’ हुन् भन्दा धेरैलाई अनौठो लग्ला । तर बिषयगत विज्ञ भनेका सम्वन्धीत विषयमा जानिफकारहरु हुन् । यहि मान्यताका साथ दोलखामा मछिनो प्रशोधन सम्वन्धी एक कार्यशाला आयोजना भएको थियो । कार्यशालामा विषयगत विज्ञको रुपमा कुनै कम्प्यूटरबाट मल्टीमेडिया प्रोजेक्टरबाट अक्षरहरु देखाएनन् । त्यहाँ मछिनो कता पाइन्छ ? कुन पातबाट धेरै तेल आउँछ ? भन्ने कुराका साथमा घरबाट निस्कँदा लिएर जाने सामाग्रीको सूचीहरु वताए । पात संकलन गर्ने तरिकाहरु सुनाए र बताए । मछिनोको पातबाट तेल निकाल्ने कारखानाबाट के गरी तेल निकालिन्छ भनी प्रस्तुती दिए । त्यसैले पात संकलक र ती पातबाट तेल निकाल्नेहरु नै विज्ञ हुन् ।
‘विज्ञ’ भन्नासाथ पढेलेखेको, सुकिलो मुकिलो, ल्यापटप प्रयोग गर्ने, पावरप्वाइन्ट मार्फत प्रस्तुती दिने भन्ने वुझाइ रहन्छ । सामान्य अर्थमा भन्ने हो भने जान्ने भन्ने अर्थ लाग्ला । जान्ने को हुन्छ भन्दा पढेलेखेका नै हुन्छन् भन्ने आम वुझाइ छ । तर जान्ने मान्छे भनेको पढेकै हुनु पर्दछ छैन तर त्यो विषयमा दख्खल भएको हुनु पर्दछ ।
दोलखामा मछिनो वृक्षारोपण, पात संकलन, प्रशोधन गरी तेल निकाल्ने समेत काम भैरहेको छ । यो कार्यमा सवै भन्दा महत्वपूर्ण पक्ष भनेको मछिनोको दिगो व्यवस्थापनमा विगतका केही वर्ष देखि सियास नामक संस्थाले अनुसन्धानको काम गरिरहेको थियो । त्यस कार्यमा सामुदायिक वनहरुको छाता संस्था फेकोफन दोलखाले सहकार्य गरिरहेको थियो । यिनै २ वटा संस्थाको सहकार्यमा एक कार्यशाला आयोजना गर्रिको थियो । त्यो पनि संवादमूलक कार्यशाला । दोलखामा मछिनोको दिगो व्यवस्थापनको सवालमा संवाद गर्ने र संकलकको क्षमता अभिवृद्धि गर्नु पर्ने थियो ।
यस कार्यशालाको मूल मर्म मछिनो दिगोव्यवस्थापनकालागि मूख्य भूमिका संकलनको पनि हुने भएको हुँदा उनीहरुको क्षमता अभिवृद्धिकामा जोड दिने थियो । यस कामकालागि को स्रोत व्यक्ति खोज्ने भन्ने विषयमा डा. गोविन्द पौडेल, फेकोफन दोलखाका अध्यक्ष जगन्नाथ बस्नेत र म विचमा सल्लाह ग¥यौ । सकलकहरु नैं विज्ञ हुन् । उनीहरुनै स्रोत व्यक्ति बनाउँ भन्ने छलफल भयो । अनी, हामीले भीमेश्वर नगरपालिका वडा न. ८ बोचमा एक कार्यक्रम फरक ढंगले सञ्चालन गर्ने सल्लाह भयो ।
कार्यशालाको स्वरुप
कार्यपत्र प्रस्तोतामा २ जना विज्ञलाई आशन ग्रहण गराइयो । उहाँहरु २ जना मछिनो संकलनकालागि हातमा हँसिया बोकेर थाप्लोमा नाम्लो पिढ्युँमा डोको बोकेर वन तिर जाने गर्नु हुन्छ । वनबाट डोकाभरी मछिनोको पात संकलन गरी तेल निकाल्ने उद्योगमा बेच्नु हुन्छ । प्यानालिष्टमा ४ जनाले आशन ग्रहण गर्नु भयो । उहाँहरु २ जना सामुदायिक वनका अध्यक्ष हुनुहुन्थ्यो । त्यसै गरी अरु २ जना सुगन्धीत तेल उत्पादन गर्ने उद्योगका मालिक हुनुहुन्थ्यो । अरु ३० जना जती सहभागीका रुपमा आशन ग्रहण गरे । सहभागीकै लाइनमा सामुदायिक वनका छाता संस्था फेकोफन र सहयोगी सस्था सियासका पदाधिकारी पनि हुनुहुन्थ्यो ।
कार्यपत्र प्रस्तोता र प्यालिष्टको अगाडी नेमप्लेट थियो ।
अगाडी नेमप्लेट राखेर साङगेल्मु शेर्पा (पण्डित सामुदायिक वन, गौरीशंकर) र दिनेश भुजेल (भीतेरी सामुदायिक वन, भीमेश्वर) संकलक विज्ञ बस्नु भएको थियो । कार्यपत्र प्रस्तोतालाई ‘मछिनो संकलनकालागि घरबाट निस्केदेखि के के गरेर घर फर्कनु हुन्छ ?’ भन्ने प्रश्न थियो । ‘घरबाट विहान खाजा खाएर हातमा हसिँया, नाम्लोले डोको वोकेर वन जाने गर्दछौं । जहिले पनि वन जान पाइन्न, जब सामुदायिक वनले खुल्ला गर्दछ अनी मात्र जाने हो । तोकिएको वनमा जाने हसियाले मछिनोको मुना पातहरु काट्ने, डोको भर्ने अनी वोकेर ल्याइ तेल उत्पादन गर्ने नजिकको कारखानामा बेच्ने गर्दछौं ।
’ सहभागीले प्रश्न सोधे, कति रुपैयामा ? गौरीशंकर तिर प्रति केजी १० रुपैया र भीमेश्वर तिर १५ देखि २० सम्म पर्दो रहेछ । सहभागीहरुले संकलन सम्वन्धी धेरै जिज्ञासा राखे । संकलक विज्ञहरुले सरल तरिकाले जवाफ दिँदै गए । गौरीशकर तिर उद्योगले संकलकलाई डोको उपलव्ध गराएको वताए । एक पटक ल्याउँदा वढिमा ७० केजीसम्म पात ल्याउन सकिने कहिलेकाँही २० केजीमैं चित्त वुझाउनु परेको पनि वताए । मछिनोको उपलव्धता प्रति चासो लिए । वृक्षारोपण गर्नु पर्ने अनी धेरै झाडी वढेर मछिनो लोप हुँदै गएकोले नियमित वन व्यवस्थापन तिर ध्यान दिनु पर्ने विषयहरु सुझाए ।
त्यस पछि पालो आयो, सामुदायिक वनका अध्यक्षहरुको । गौरीशंकर तिरबाट मिङ्मा छेकी शेर्पा र भीमेश्वर तिरबाट ज्ञान वहादुर तमाङ्ग उहाँहरु दुवै जना सामुदायिक वनको अध्यक्ष हुनुहुन्छ । संकलक विज्ञहरुले गरेको कार्यपत्रमा केन्द्रीत रहि आफ्नो कुरा राख्नु भयो । मछिनो दिगोपना प्रति चिन्ता व्यक्त गर्नु भयो । संकलकले धेरै संकलनको चाहानाले विरुवा नासिने संभावना वढेको औंल्याए । झाङ छुट्याएर वृक्षारोपण गर्दा मछिनो राम्रो हुने । मछिनोको कारण पण्डित सामुदायिक वनमा बार्षिक ६० हजार र भीमेश्वर तिरका केही सामुदायिक वनमा १० हजार आम्दानी हुने गरेको पाइयो । यो रकम मछिनो वढाउन वनमा चाँही कति खर्च गरियो त ? सहभागीको तिखो प्रश्नमा खासै चित्त वुझ्दो जवाफ आएन ।
उद्यमीको प्यानालिष्टमा आङतेण्डी शेर्पा र हस्तवहादुर भुजेल हुनुहुन्थ्यो । उहाँहरुले बार्षिक १ सय ५० लिटरको हाराहारीमां तेल उत्पादन गरिरहनु भएको छ । पातसंकलन हचुवाको भरमा भएकोले तेल उत्पादनमा कमी आउने गरेको, दिगो उत्पादनमा उद्योगहरु पनि सहकार्य गर्न तयार रहेको बताउनु भयो । मछिनो टुप्पोबाट एक हात मुनीसम्म काटेर ल्याउँदा र धेरै वफ्याउँदा तेल राम्रो आउने बताउनु भयो ।
कार्यशालामा उपस्थीतहरु सबै जङ्गल तिर लाग्यौं । कसरी पात संकलन गरिन्छ भनी प्रयोगात्मक अभ्यासकालागि । यस कार्यशालामा नयाँ संकलकहरु पनि थिए । उनीहरुलाई प्रयोगात्मक अभ्यासले मात्र विज्ञता तर्फ उन्मुख गर्न सक्छ भन्ने अभिप्रायले वनमा नैं प्रयोगात्मक अभ्यास गरिएको थियो । विज्ञताको स्तर यति गजब थियो कि मछिनोको हाँगा देखाएर त्यो हाँगा कति वर्षको भनेर फ्याट्ट भन्ने गर्नुहुन्थ्यो । यो सबै गरिजान्नेको परिणाम हो, पढि जान्नेलाई ल्यावमा लैजानु पर्दथ्यो होला ।
मछिनोको दिगो व्यवस्थापनकालागि अठोट
सहभागीहरुले आफ्नो अनुभव र प्रश्न राखे । वनमा नै गएर मछिनो काट्ने तरिका समेत अबलोकन गरियो । सामुहिक छलफलबाट मछिनोको दिगो उपयोगकालागि १५ वुँदै साझा धारणालाई अठोटको रुपमा तयार गरियो । फल पाके पछि मात्र पात सकलन गर्ने, झाडी पुरै नकाट्ने, साउन देखि कार्तिकसम्ममात्र सकलन गर्ने, वन व्यवस्थापन झाडी सफाइ नियमित गर्ने, संकलकहरुको उपसमूह वनाएर मछिनोप्रतिको अपनत्वको ग्यारेन्टी जिम्मेवारी वनाउने, बार्षिक रुपमा मूल्य सम्वन्धी समिक्षा सकलक, सामुदायिक वन र उद्यमी बसेर गर्ने, वडा कार्यालय लगायत सरकारी संरचनासँग समन्वय गर्ने जस्ता बुँदा समावेश छन् ।
प्रतिवद्धताको वुँदाहरु ः १. पात र कलिला मुना मात्र सङ्कलन गर्ने, २. झाडी पूरै नकाट्ने, ३. बर्षको एक पटक मात्र पात सकलन गर्ने, ४. विरुवाको माथिबाट एक वित्ता तलसम्म मात्र काट्ने, ५. फल पाकेपछि मात्र पात संकलन गर्ने, ६. साउनदेखि कात्तिकसम्म मात्र पात सङ्कलन गर्ने, ७. झाडी सफाइ र वन व्यवस्थापन नियमित गर्ने, ८. सङ्कलनको समयमा अनुगमनको व्यवस्था गर्ने, ९. झाङ् फुटाएर वा उखेलेर वृक्षारोपण गर्ने, १०. उद्यमीले सङ्कलकलाई दिगो संकलन तर्फ उत्प्रेरित गराउने, ११. सङ्कलकहरूको उपसमूह बनाई सङ्कलकलाई संरक्षणमा जिम्मेवार बनाउने र हुने, १२. मूल्य र रोयल्टीकालागि सर्वपक्षिय बार्षिक रुपमा समिक्षा गरि पुनरावलोकन गर्ने, १३. मछिनोको उत्पादन वढाउन नीजि र सामुदायिक वनमा वृक्षारोपण गर्ने, १४. मछिनोको दिगोपनाकालागि स्थानीय वडा र वन कार्यालयसँग समन्वय तथा सहकार्य गर्ने र १५. मछिनोको सन्दर्भमा जानिफकार विज्ञ परिचालित हुने र सवै क्षेत्रबाट विज्ञताको सदुपयोगकालागि पहल गर्ने । यी १५ वुँदा कार्यान्वयनकोलागि अठोट गर्दै सबैले हस्ताक्षर समेत गरियो ।
अन्त्यमा, मछिनोबाट सवैलाई फाइदा छ तर यसको दिगोपनामा प्रश्न उठ्न थालेको छ । यो संकट टार्न यस कार्यशालामा उपस्थीत सवै पक्ष लाग्ने र अरुलाई यहि मार्गमा हिडाउन आवश्यक छ । समस्या छ, समाधान पनि यहि छ भन्ने मान्यताबाट यो कार्यशाला सञ्चालन गरिएको थियो । यस कार्यशालाबाट निस्केको सामुहिक निचोड कार्यान्वयन हुन सकोस् । सवैलाइ फाइदा दिने मछिनोको दिगो व्यवस्थापन हुन सकोस् । शुभकामना ।