आफू बसेकै स्थानमा अब स्वास्थ्य बीमा एक महिनामै सेवा लिन सकिने

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । स्वास्थ्य बीमा गरेका व्यक्तिहरूले आफू बसेकै स्थानमा ‘प्रस्थान विन्दु’ (प्रथम सेवा विन्दु) कायम गरेर सेवा लिन सक्ने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्तावमा मन्त्रिपरिषद्ले स्वास्थ्य बीमा नियमावली संशोधन गर्दै व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।नियमावली संशोधनसँगै अब बीमा गरेपछि सेवा लिनका लागि तीन महिना पर्खनुपर्ने अवस्था पनि अन्त्य भएको छ । अब बीमा गरेपछि एक महिनाभित्रै सेवा लिन सकिने व्यवस्था लागू हुनेछ ।

यसअघि बीमा गरेपछि सेवा लिनका लागि बीमा गराइएको ठाउँमै पुग्नुपर्ने बाध्यता थियो । तर अब व्यक्तिले बसोबास गरिरहेको स्थानमै प्रस्थान विन्दु कायम गरेर स्वास्थ्य बीमाको सुविधा लिन पाउनेछन् ।
स्वास्थ्य बीमा प्रणालीलाई सहज बनाउने मन्त्री पौडेलको प्रतिबद्धताअनुसार नियमावली संशोधन प्रस्ताव मन्त्रिपरिषदमा लगिएको थियो । बुधबार बसेको बैठकले उक्त प्रस्ताव पारित गरेको मन्त्री पौडेलले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *