केआईआईटी विश्वविद्यालयमा थप एक नेपाली विद्यार्थीको मृत्यु,परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल

समाचार

काठमाडौं । भारतको ओडिशास्थित केआईआईटी विश्वविद्यालयमा थप एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) ओडिशाले विज्ञप्ति जारी गर्दै यस्ता गम्भीर घटना दोहोरिँदा पनि राज्य सरकार चुप बसिरहेको भन्दै विश्वविद्यालयविरुद्ध तत्काल कडा कदम चाल्न माग गरेको हो ।

घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै एबीभीपी ओडिशाले राज्य सरकारको मौनताप्रति प्रश्न उठाउँदै घटनालाई ‘घिनलाग्दो र लाजमर्दो’ भनेर टिप्पणी गरेको छ । साथै परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको जनाएकी छन् ।

पर्साको वीरगञ्ज निवासी प्रिशा बिबन हीबार राति आफ्नै होस्टेल कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । परिवारका सदस्यहरु त्यहाँ पुगेपछि पोष्टमार्टम गर्ने तयारी छ । प्रिशाका परिवारका सदस्यहरु भारत प्रस्थान गरिसकेका छन् ।

यसअघि गत ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीय नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *