सरकारले निति तथा कार्यक्रम मार्फत् ल्याएको स्वास्थ्य नितिहरु विस्तृत रुपमा

विविध शिक्षा/स्वास्थ समाचार

काठमाडौं । सरकारले मस्तिष्क, मेरुदण्ड, मानसिक तथा स्नायु रोगको उपचारको लागि काठमाडौंमा एक अत्याधुनिक राष्ट्रिय न्युरोसाइन्सेज केन्द्र स्थापना गर्ने घोषणा गरेको छ ।

नीति तथा कार्यक्रम सार्वजनिक गदै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले मस्तिष्क, मेरुदण्ड, मानसिक तथा स्नायु रोगको उपचारको लागि काठमाडौमा एक अत्याधुनिक राष्ट्रिय न्युरोसाइन्सेज केन्द्र स्थापना गर्ने बताए । राष्ट्रिय मृगौला प्रत्यारोपण कार्यक्रम’ घोषणा गरी आवश्यक जनशक्ति र पूर्वाधारको विकास एवम् नियमित रूपमा मिर्गौलाको प्रत्यारोपण सुनिश्चित गर्दै सातै प्रदेशमा अङ्ग प्रत्यारोपण सेवा विस्तार उनले बताए ।

सरकारले कक्षा १२ पास गरेका विद्यार्थीहरुले पढ्न पाउने जनरल नर्सिङ कार्यक्रम सुरु गर्ने भएको छ । राष्ट्रपति पौडेलले संघीय संसद्मा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रको जनशक्तिको आपूर्ति सुनिश्चित गर्न जनरल नर्सिङ कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।
‘जनरल नर्सिङ कार्यक्रम’ को अवधि दुई वर्षको हुनेछ ।

हाल माध्यमिक शिक्षा परीक्षा (एसईई) पास गरेपछि प्रविणता प्रमाणपत्र (पीसीएल) नर्सिङ कार्यक्रम पढ्न पाइन्छ । सीटीईभीटी अन्तरगतको यो शैक्षिक कार्यक्रम तीन वर्षे हो ।
पीसीएल गरेपछि ब्याचलर अफ नर्सिङ साइन्स (बीएनएस) अध्ययन गर्न पाइन्छ, यो पनि ३ वर्षे शैक्षिक कार्यक्रम हो । विज्ञान संकाय लिएर कक्षा १२ पास गरेका विद्यार्थीका लागि चारवर्षे बिएसी नर्सिङ कार्यक्रम सञ्चालन छ ।

सरकारले गम्भीर रोगको उपचार स्वास्थ्य बीमाबाट गर्न सुविधा थैली परिमार्जन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।उनले भने, ‘गम्भीर रोगको समेत उपचार स्वास्थ्य बीमाबाट गर्नका लागि सुविधा थैली परिमार्जन गरिनेछ ।’साथै स्वास्थ्य बीमा बोर्डको पुनर्संरचना गरिने उनले बताए । आधारभुत र अत्यावश्यक औषधि बीमा प्रणालीमा समेटिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

अहिले स्वास्थ्य उपचारमा छरिएका सामाजिक सुरक्षाका कार्यक्रम एकीकृत गर्नुका साथै प्रभावकारी बनाइने बताइएको छ । साथै सरकारले महिलाहरूमा हुने पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै १४ वर्षमूनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क हुने व्यवस्था मिलाइने बताए ।
दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका थप प्रभावकारी कार्यक्रम बनाउने भएको छ ।

जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *