काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी स्थित सुख्खा बन्दरगाह निर्माणका लागि रुख कटानको काम शुरु भएको छ ।
नेपाल इन्टरमोडल यातायात विकास समितिले एक साता अघिदेखि नै रुख कटानको कामबारे जानकारी दिएको हो ।एक हप्ता अघिदेखि रूख कटानको काम शुरु भएकोले अहिलेसम्म पाँच सय रूख कटान भइसकेको र बन्दरगाह निर्माणका लागि थप एक हजार पाँच सय ९३ रूख काट्नुपर्ने उल्लेख गरेको छ ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुख्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सोही सम्झौता अनुसार दुबै तर्फबाट काम भइरहेको छ । भारत बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण नेपालले गरिरहेको छ ।
नेपालले सुक्खा बन्दरगाहसम्मको ६ लेनको पहुँच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा ल्याएको छ । सुख्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।
समितिले रूख कटानका लागि ४१ लाखमा ठेक्का सम्झौता भएको समेत जानकारी गराएको छ ।