काठमाडौं । आज विभिन्न कार्यक्रम गरी ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ।
गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ। सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो। १९५८ साल वैशाख २४ गतेदेखि साप्ताहिक रुपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो।
‘विश्वसनीय सूचनाको आधार स्जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाइँदैछ। पत्रकारिता दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरिनेछ। सञ्चार तथा सूचना प्रविधि मन्त्रलायको आयोजनामा आज दिउँसो १ बजे राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना हुँदैछ। त्यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम रहेको छ।
पत्रकारिताको माध्यमबाट राष्ट्रिय हितको प्रवर्द्धन र जनतालाई सुसूचित गराउन योगदान पुर्याएका पत्रकारलाई प्रोत्साहन र सम्मान स्वरुप हरेक वर्ष प्रदान गरिने राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मानबाट यसवर्ष सम्मानित व्यक्तिहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट पुरस्कार एवं सम्मान प्रदान गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
गोरखापत्र संस्थानले ‘गोरखापत्र’ प्रकाशनको १२५औँ वर्ष प्रवेश तथा संस्थानको ६३औँ वार्षिकोत्सवका उपलक्ष्यमा राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा कार्यक्रमको आयोजना गर्दैछ।