काठमाडौं । प्रहरीलाई सुपारी बुझाउनु नौलो होइन । प्रहरीको सिपाहीदेखि एआइजी सम्मको सरुवा हुँदैन । गृहमन्त्री रमेश लेखकले राम्रै लेनदेन गरेर २१ जिल्लाका प्रहरी प्रमुख हेरफेर गरे । आइजीपी दिपक थापा दर्शक भए । प्रधानमन्त्री ओलीका पिएसो बसेर चितवन पुगेका राजन लिम्बु झापा जानु, प्रबन्धका गोविन्द पुरी चितवन पुग्नु, रूपन्देहीमा प्रदिप कुमार क्षेत्री पुग्नु, बाँकेमा रामकुमार घर्ती पुग्नुमा राजनीतिक पापड धेरै पेलिएकै हो । किनकि धनुषा जस्तो ठाउँमा नरहरी रेग्मीको सरुवामा विमलेन्द्र निधिको राम्रै हात हो ।
६३ जनाको सरुवामा गृहले राम्रैसँग तेल बेसार लगाउनेहरूलाई राम्रै जिल्ला दिएको छ । प्रहरी र सशस्त्रमा मोरङ, झापा, सुनसरी, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, बाँके, बर्दियालाई राम्रो मानिन्छ । महोत्तरी, सप्तरी, सिराहा, सिन्धुपाल्चोक, काभ्रेजस्ता जिल्ला राजस्व छलेर तस्करी सामान चोरबाटो छिराउने अखडा बनेको छ । प्रहरीले सुपारी लिएर सेटिङ मिलाउँछ । गृहको टक्कर र हस्तक्षेपलाई आइजीपी दीपक थापाले स्वीकार्न बाध्य हुनु भनेको पदको कारण हो । जहाँ आरजुको सम्बन्ध हुन्छ, त्यहाँ गृहले पनि प्रश्न गर्दैन ।
प्रहरीमा पूर्व आइजीपी बसन्त कुँवरको समयमा राष्ट्रपतिका सल्लाहकार दाजुले दिएको निर्देशन कार्यान्वयन हुन्थ्यो । पैसा छाउनी तिर पुग्थ्यो । गुप्तचरबाट आएका श्यामकृष्ण अधिकारीले असक्षम भएपनि ललितपुरको एसएसपी पाउनु नौलो हो । किनकि जहाँ गए, त्यहाँ बदनाम अधिकारी ललितपुर पुगेर ग्यास्ट्रिक औषधिको नाममा काठको धुलो बेच्नेसँग मिलेर भ्रष्टाचार गररेको थाहा पाएपछि प्रजिअले नै उनको बदनाम गरेका थिए ।