पैसा विनाको नेता र नेता विनाको रुपान्तरण संभव हुँदैन । जसको सवाल उसैको नेतृत्व अर्को महत्वपूर्ण पक्ष हो । भीमेश्वर नगरपालिका भित्र आधा भन्दा वढि जनसंख्या महिलाको छ । भुगोलमा वसाइ पनि महिलाकै धेर छ । तर सामाजिक संघ संस्था तथा राजनीतिक इकाईहरुमा महिलाको सहभागीता अत्यन्त न्यून पाइन्छ । महिलाको नेतृत्वमा तहमा प्रतिनिधित्व बढाउन सके समाज रुपान्तरणमा समेत योगदान पुग्न सक्छ । अनी नेतृत्व तहमा पु¥याउनकालागि महिलाहरु आर्थिक रुपमा पनि सबल हुन जरुरी छ भन्ने अभिप्रायका साथ भीमेश्वर नगरपालिकाको गतबर्षको सभाबाट भीमेश्वर नगर आत्मनिर्भर कार्यक्रमको अवधारणा ल्याएको थियो । यस अवधारणा अनुसार महिलाको नेतृत्व विकास र आर्थिक सशक्तिकरणलाई प्राथमिकता दिएको छ ।
भीमेश्वरमा महिला
पछिल्लो आंकाडा अनुसार १८ हजार ८२ जना महिलाको संख्या रहेको छ । पुरुषको संख्या १६ हजार ६ सय ३० रहेको पाइन्छ । घरमा नियमित बसोबास गर्ने पनि तुलनात्मक रुपमा महिलाको संख्या नैं धेर हुन्छ भन्नकालागि कुनै अनुसन्धान आवश्यक पर्दैन । तर कुनै संस्था वा संरचनाको समिति वनाउनु पर्दा महिलाको प्रतिनिधित्वमा मुस्कील पर्दछ । वसिदिनुहोस् केही गर्नु पर्दैन हामी छौं नी भनी पुरुषहरुले भनिरहेको अवस्था छ ।
भीमेश्वर नगरपालिकामा रहेको जनप्रतिनिधि, संघसंगठन, सामुदायिक सस्थाहरु, उपभोक्ता समिति, व्यवस्थापन समितिहरुमा महिला प्रतिनिधित्व न्यून छ । कानूनले अनिवार्य गरेकोमा उपस्थीति भए पनि प्रभावकारी भूमिका निर्वाह हुनन सकिरहेको छैन । कानूनले अनिवार्य तोकेको वाहेक खुल्ला पदमा महिलाको प्रतिनिधित्व सुन्य भन्दा फरक नपर्ने आँकडाले देखाउँछ । उदाहरणकालागि भीमेश्वर नगरपालिकामा ९ वटा वडा छन् । ती हरेक वडामा २ जना महिला अनिवार्य छ । त्यसमा पनि वडा नं. ९ मा दलितको घर नैं छैन । त्यसैले त्यहाँ दलित महिला सदस्य सधैं रिक्त हुने गरेको छ ।
अरु वडाहरुमा दलित महिला र खुल्ला महिला गरी २ जना महिला निर्वाचित हुने गर्दछन् । त्यसरी निर्वाचित भएका मध्ये २ जना महिला वडाका नियमित कार्यमा सलग्न भएको पाइएको छैन । ९ वटा वडा अध्यक्ष पदमा महिलाको उम्मेदवार अहिलेसम्म परेको छैन । यहि अवस्था छ नगर प्रमुखको पदमा पनि । उपभोक्ता समितिमा महिलालाई राखिन्छ तर उनीहरुले पदिय भूमिका निर्वाह गरेको प्रायः पाइन्न । सामुदायिक संस्थाहरुमा पनि सोही अवस्था छ ।
सामुदायिक वनको कार्यसमितिमा कम्तीमा आधा महिला, अध्यक्ष र सचिव मध्ये एक महिला अनी उपाध्यक्ष र कोषाध्यक्ष मध्ये पनि एक महिलाको प्रावधान छ । तर भूमिका निर्वाह भनेजस्तो हुन सकेको छैन । यस परिवेशमा विभिन्न तहमा छलफल तथा परामर्श गर्दा नेतृत्वको भूमिका पुग्ने अनुकुल वातावरणका साथ सम्वन्धीत महिलाको प्रतिवद्धता कमि रहेको पाइयो । साथै आर्थिक परनिर्भरताले पनि नेतृत्वमा स्थापित हुन नसकेको महसुस भयो । सोही अवस्थालाई सम्वोधन गर्ने भीमेश्वर नगरपालिकाले महिला सशक्तिकरण कार्यक्रम सञ्चालन गरेको छ । लामो छलफल तथा परामर्श पछि भरखरै हरेक वडाबाट २० जनाको दरले १ सय ८० जना महिला छनौट भएका छन् । छनौट भएका महिलाहरुलाई नेतृत्व सशक्तिकरण र उद्यम विकास सम्वन्धीत तालिमहरु सञ्चालन भैरहेका छन् ।
फरक खाल्को कार्यक्रम
यो कार्यक्रम नेतृत्व क्षमता विकासकोसँगसँगै पैसा कमाउने पनि हो । नेता बन्ने तर पैसा नहुने पनि काम छैन । पैसा हुने तर नेतृत्वदायी भुमिका नखेल्ने पनि काम छैन भन्ने सोच यसमा छ । समाज वा संस्था रुपान्तरणको हुनै पर्दछ । त्यसकालागि नेता आवश्यक पर्दछ तर नेताको नेतृत्व पेशा होइन, समाज रुपान्तरण वा प्रगतीको अगुवाई गर्ने मान्छे हो । उसको जीवन निर्वाहकालागि अर्को पेशा हुनु पर्दछ । यी दुवै कुरा भएमा मात्र समाज र व्यक्तिको समेत विकास एवं प्रगति हुन्छ भन्ने सोच यो कार्यक्रमले लिएको छ । त्यसैले मापदण्ड पूरा भएर छनौट भएका महिलाहरुलाई पहिलो चरणमा उनीहरुको अवस्था विश्लेषण गरिन्छ । कुन कुन संस्था वा संरचनामा आवद्ध हुनु भएको छ । के के काम गरिरहनु भएको छ । कुन संस्था वा संरचना आफ्नोलागि अनुकुल छन् ।
निश्चित वर्षमा के मा कस्तो नेतृत्व बन्न चाहने हो त्यो पहिचान गरिन्छ । त्यो व्यक्तिगत रुपमा गरिन्छ । त्यो सपना प्राप्त गर्नकालागि गर्नु पर्ने कामहरुको योजना उनीहरुले बनाउनेछन् । नेतृत्व क्षमता र आर्थिक पक्षको विस्तारको समेत सपना बनाउने छन् । त्यसमा आधारित भैं दोस्रो चरणमा उद्यमसँग सम्वन्धी कार्यशाला गर्ने गरिएको छ ।
सामान्यतयाः अनुदानमुखी कार्यक्रममा निवेदन हाल्ने चलन छ । निवेदन माथि अनुदान दिनेले छानविन गर्ने अनी अनुदान दिने गरिन्छ । यसरी निवेदन हाल्दा अनुदान के आउँछ त्यही अनुसार मिलाएर निवेदन हाल्ने चलन छ । तर यो कार्यक्रममा मापदण्ड अनुसार छनौट भएका उद्यमी महिलाहरुले उनीहरुले जे व्यबसाय गरिरहेका छन् । त्यही कामलाई थप वढाउने योजना बनाउनु पर्दछ र काम गर्नु पर्दछ । त्यही थप कामलाई प्रोत्साहन गर्न नगरपालिकाले न्युनतम् विउँ पुँजीको रुपमा उद्यमी महिलाको वैंक खातामा जम्मा गरिदिने छ । यो रकम फिर्ता गर्नु पर्ने हैन तर थप काम गरि थप पैसा कमाउनु पर्दछ भन्ने मात्रै हो ।
सवालमा आधारित कार्यक्रम
यो कार्यक्रम एक्सन रिसर्च जस्तो देखिन्छ । छलफल गर्ने, काम गर्ने समिक्षा गर्ने आफैलाई रुपान्तरण गर्ने काम यसमा हुन्छ । उदाहरणकोलागि भीमेश्वर नगरपालिका वडा नं ७ मा यो कार्यक्रम अन्तरगत पहिलो चरणको नेतृत्व क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको थियो । नेतृत्व स्थापित हुनकालागि अभियान सञ्चालन गर्नु पर्दछ भन्ने सहभागीको साझा वुझाइ भयो । सवालमा आधारित अभियान सञ्चालन गर्नु पर्दछ अनी यसकालागि जसको सवाल उसैको नेतृत्व हुनु पर्दछ भन्ने विषयमा व्यापक छलफल भयो । सहभागीहरु यूवा महिला थिए ।
उनीहरुले कृषिबाट धेरै काम गर्न सकिन्छ तर सवाल धेरै छन् भन्ने कुरा आयो । सामुहिक छलफल गरे । विउ विजनको गुणस्तरीयता नहुने, प्राविधिक सेवा नपाएको, उव्जाउ जमिन वाँझोमा रुपान्तरण भैं ठुला ठुला रुख भएकोले नजिकको जग्गामा पनि उत्पादकत्व घटेको, वन्यजन्तुले असर पारेर कृषि व्यवसायबाट विस्थापित हुनु परेको जस्ता सवालहरु पहिचान भए । ती सवाल सम्वोधनकालागि आफ्नो नजिकको सरकार वडा कार्यालयलाई ध्यानाकर्षण गराउने सल्लाह गरे । तत्कालन ९ वुँदे ध्यानाकर्षण पत्र वनाए । भीमेश्वर नगर उपप्रमुख कमला बस्नेतको उपस्थीतिमा वडा अध्यक्ष विनोद तमाङ्गलाई ध्यानाकर्षण पत्र वुझाए । ध्यानाकर्षणका वुँदाहरुमा माग मात्रै राखेका छैनन् । उनीहरु आफैले गर्ने काम निक्र्यौल गरी कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।
अन्त्यमा, समाज रुपान्तरणको अगुवाई नेताले गर्ने हो । जो समुदायमा बसेको छ उही नेता वन्नु पर्दछ । अहिले संख्यात्मक रुपमा महिला समुदायस्तरमा वसेका छन् । उनीहरुले नैं जेनतेन ग्रामिण अर्थतन्त्र धानेका छन् । उनीहरुले गरेको व्यवसायलाई प्रवद्र्धन गर्नु आवश्यक छ । पैसा आवश्यक छ । नेताको प्रष्ट देखिने आर्थिक स्रोत हुनु पर्दछ । साथमा नेतृत्वदायी भूमिका पनि खेल्नु पर्ने छ । त्यसैले व्यबसाय गर्ने, पैसा कमाउने, सामाजिक न्यायकालागि असल नेता वन्ने अभियानमा भीमेश्वर नगरका महिलाहरु संगठित भैरहेका छन् । अभियानमुखी सोच राम्रो छ । अभियान कसरी जाने हो, कुर्नुको विकल्प छैन । अभियान सफल रहोस् शुभकामना ।