काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको गभर्नरमा योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन् ।
पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै व्यक्तिगत निकटताका आधारमा नभई क्षमताका आधारमा गभर्नर छनौट गर्ने बताएका हुन् । मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउँदा देशको लागि काम गर्न सक्छन् । त्यसैले मेरिटोक्रेसीको पक्षमा आफु रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिको सिफारिसका आधारमा क्षमता भएका व्यक्ति नियुक्ति भएको स्पष्ट गरे । एक आयोगका अध्यक्षलाई मुख्यसचिव हुँदा चिनेको बाहेक अरु पदाधिकारीसँग आफ्नो व्यक्तिगत चिनजान र सम्बन्ध नरहेको उनको भनाइ थियो ।
उनले पूर्व योजनाकारहरुको संस्थाबाट आफ्ना सोच र अनुभवको आदानप्रदान होस् भन्ने कामना गर्दै व्यक्तित्व टकराव नगरी संस्थाको दिगोपनाको कामना गरे ।