काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत ‘सुपर थ्री’ को अन्तिम खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै छ ।
आज बिहान पौने नौ बजेदेखि तेरथाइ क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्दैछ । सोमबार भएको खेलमा नेपालले यूएईलाई हराउँदै पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको हो । त्यसअघि आइतबार थाइल्याण्डले यूएईलाई हराएर अघिल्लो चरणमा पुग्ने पक्का भएको थियो ।
थाइल्याण्ड हालसम्म यस प्रतियोगितामा अपराजित छ । समूह चरणमा दुई जित निकाल्दा दुई रद्द भएको थियो भने सुपर थ्री मा यूएईलाई हराएको थियो । नेपालले समूह चरणमा बहराइनलाई दुबै खेलमा हराउँदा हङकङसँग पराजित भएको थियो भने हङकङको नेपालसँग १ र बहराइनसँग दुबै खेल वर्षाले प्रभावित हुँदा नेपाल बढी जितसहित अगाडि बढेको थियो ।
नेपाल र थाइल्याण्ड दुबैले ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको कारण आजको खेलको विजेताले एसिया छनोटको उपाधि जित्ने भएको छ ।