काठमाडौं । संयुक्त राष्ट्रसंघले ११ हप्ताको नाकाबन्दी पछि गाजामा सहायता आइपुगेको बताए पनि अझै वितरण गरिएको छैन ।
इजरायली अधिकारीहरूले मंगलबार सुरक्षा जाँच पछि ९३ वटा सहायता ट्रक गाजा पट्टीमा प्रवेश गरेको बताएका थिए । यसैबीच, संयुक्त राष्ट्रसंघको मानवीय कार्यालयले सहायता सामग्री प्यालेस्टिनी सीमासम्म मात्र पुर्याइएको बताएको छ ।
संयुक्त राष्ट्रसंघले गाजामा रहेको आफ्नो टोलीले मंगलबार क्रसिङमा पुग्न र सहायता सामग्री प्राप्त गर्न घण्टौं पर्खेको बताएको छ, तर इजरायली सेनाले अझैसम्म त्यसो गर्न अनुमति दिएको छैन । भोकमरीको चेतावनीका बीच गाजामा रहेका नागरिकहरूलाई सहायता पुर्याउन अन्तर्राष्ट्रिय दबाब बढिरहेको बेला यो वक्तव्य आएको हो । इजरायली सेनाले सहयोगमा बेकरीका लागि पीठो, शिशु खाना, चिकित्सा उपकरण र औषधि समावेश रहेको बताएको छ ।