काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गरेका छन् ।
चालु आवमा मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ । प्रदेशगत रूपमा मधेश, कोशी र सुदूरपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत आर्थिक वृद्धिदर भन्दा माथि रहने अनुमान गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिएका हुन् ।
चालु आवको फागुन मसान्तसम्मको अवस्थाअनुसार प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर एक हजार ५१७ अमेरिकी डलर पुग्ने र औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको आर्थिक सवेक्षणमा उल्लेख रहेको छ ।
चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार रू ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योगको १२.८३ र सेवा क्षेत्रको योगदान ६२.०१ रहने अनुमान गरिएको अर्थमन्त्री पौडेलले सदनमा बताएका छन् ।
हाल देशमा ४५ वटा सार्वजनिक संस्था सञ्चालनमा छन् । जसमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका र २५ वटामा सरकारको अधिकांश स्वामित्व रहेको जुन गत समीक्षा अवधिको तुलनामा १२.८८ प्रतिशतले कम छ ।आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति अघिल्लो आर्थिक वर्षभन्दा २.०२ प्रतिशतले वृद्धि भइ २९ खर्ब १० अर्ब १७ पुगेको अर्थमन्त्री पौडेलले जानकारी दिए ।