काठमाडौं । सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमभित्रको भ्रष्टाचार, विकृति र विसंगतिले गर्दा नेपाल टेलिकम दिनप्रतिदिन ओरालोतिर लागिरहेको छ । अधिकांश पहाडी क्षेत्रमा टेलिकमको नेटवर्क नटिपेर उपभोक्ताहरु हैरान भइरहेका छन् । फाइबर बिछ्याउने नाममा भएको अनियमितता र भ्रष्टाचारको छानविन पनि हुन सकेको छैन । त्यसैगरी टेलिकमले भीआईपीको सुविधाको लागि भनेर राखिएको नमस्ते टावरमा पनि ठूलो घोटाला भएको बताइन्छ । उता, बिलिङ मेसिन खरिदको घटनालाई सामसुम पार्दै लगिएको छ । विभिन्न नयाँ प्रविधिको नाममा व्यापक भ्रष्टाचार भइरहेको छ । टेलिकमका कर्मचारीकै कारण संस्था धरासाही बन्दै गएको हो । टेलिकमको टावर निर्माण गर्दा पनि ठूलो मात्रामा भ्रष्टाचार हुने गरेका समाचारहरु सञ्चारमाध्यममा आइरहेका छन् ।
सर्वसाधारणलाई सुसूचित गर्नको लागि गरिने विज्ञापनमा पनि कर्मचारीले ठूलो मात्रामा कमिसन खाने गरेको समाचार बाहिरिएको छ । डिजिटल र प्रिन्ट विज्ञापनमा हुने अनियमितता पनि त्यत्तिकै छ । विभिन्न राजनीतिक दलका भ्रातृ तथा शुभेच्छुक संस्थाहरुले गर्ने कार्यक्रम, ब्यानर, क्यालेन्डर, पत्रपत्रिका र किताबहरुमा दिने विज्ञापनमा पनि सोर्सफोर्स, भनसुन र कमिसनको चलखेल हुने गरेको बताइन्छ । सोर्सफोर्स र भनसुन नहुने सञ्चारमाध्यमहरु सधैं ओझेलमा परिराखेका छन् । नियमपूर्वक पाउने विज्ञापन पनि बजेटको अभाव देखाए कटौती गरिएको छ ।
उता, टेलिकमका शेयरधनीहरुलाई बोनस र लाभांश नदिएको गुनासो त्यत्तिकै छ । कर्मचारीहरुको यस्तै लापरवाहीका कारण सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकम दिनदिनै ओरालो लाग्दै गएको हो । संस्था दिनप्रतिदिन धरासायी बन्दै जाँदा प्रवन्ध निर्देशक संगिता पहाडी गुमनाम जस्तै भएर बसेकी छिन् । उता, टेलिकमको नियमक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले टेलिकमलाई भन्दा एनसेल कम्पनीलाई उकास्ने काम गर्दै आएका छन् । भण्डारी यसअघि एनसेल कम्पनीका कर्मचारी हुन् । निजी क्षेत्रबाट सामदाम, दण्ड भेद प्रयोग गरेर प्राधिकरणको अध्यक्ष बन्न सफल भएका भण्डारी खान र खुवान माहिर व्यक्ति हुन् । भण्डारी प्राधिकरणको अध्यक्ष भएपछि नेपाल टेलिकम निकम्मा बन्दै गएको छ ।
टेलिकमको सिम प्रयोग गर्ने ग्राहकहरु सेवा चुस्तदुरुस्त नभएपछि एनसेलको सीम किन्न वाध्य पारिएको छ । उनै भण्डारीको डिजाइनमा एनसेलको सीम प्रयोगकर्ता दिनदिनै बढ्दै गएका छन् । यता, टेलिकम भने गुणस्तरहीन सेवा प्रवाहको कारण धाराशाही बन्दै गएको छ । त्यसको फाइदा एनसेल कम्पनीले उठाइरहेको छ । तर, सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले त्यस्ता विषयमा ध्यान दिएका छैनन् । उता, निजी क्षेत्रबाट सञ्चालित एनसेल कम्पनी भने फस्टाउँदै गएको छ । एनसेल कम्पनी फस्टाउँदै गए पनि राज्यलाई कर छली गर्दै आएको छ । छिमेकी मुलुक भारत र चीनलगायत विभिन्न देशबाट नेपालमा आई अवैध कारोबार गर्ने व्यक्तिले एनसेल कम्पनीको सीम कार्ड प्रयोग गर्ने गरेका छन् । नेपालमा बसेर अवैध धन्दा सञ्चालन गर्ने विदेशीहरु एनसेलको सीम किन प्रयोग गर्दछन्? एनसेलले बिनापरिचय र फारम नभराइ सीम कार्ड विक्रीवितरण गर्ने गरेको पाइन्छ ।
एनसेल कम्पनीले बिनापरिचय सीम कार्ड दिने गरेको छ । विदेशीहरु नेपालमा लुकीछिपी बसेर अवैध धन्दा चलाउन सजिलो हुने भएपछि उनीहरुले एनसेलको सीम प्रयोग गर्दै आएका छन् । परिचय बिनाको सीम कार्ड भएपछि त्यस्ता व्यक्तिलाई प्रहरीले पक्राउ गर्न पनि सक्दैन । ती व्यक्तिहरु नेपालमा रहुन्जेल एनसेलको सीम कार्ड प्रयोग गरेर अपहरण, चोरीतस्करी, वैंक तथा वित्तिय संस्थाको सफ्टवेयर ह्याक गर्ने, यौनधन्दा चलाउने, जुवातास खेलाउने, नक्कली नोटको कारोबार गर्ने, उद्योगी, व्यापारीहरुलाई ठग्ने जस्ता धन्दा सञ्चालन गर्ने गर्दछन् । त्यस्ता व्यक्तिहरुले एनसेलका तीन, चारवटासम्म सीम प्रयोग गर्ने गर्दछन् । नेपालका तस्कर र माफियाहरुले पनि धेरैजसो एनसेलको सीम प्रयोग गरेर अवैध धन्दा सञ्चालन गरिराखेका छन् । बिना परिचय र बिनानागरिकता एनसेलले सीम कार्ड विक्रीवितरण गर्ने भएकाले चोरीतस्करीदेखि लागुऔषध वसारपसारमा समेत एनसेलको सीम कार्ड प्रयोग हुने गरेको पाइन्छ ।
त्यस्ता अवैध कारोबारमा लागेका व्यक्तिहरु प्रहरीले थाहा पाउने डरले सीम कार्ड फालिदिने गर्दछन् । त्योसँगै ठूला–ठूला नेता, ठेकेदार, उद्योगी, व्यापारी र उच्च तहका कर्मचारीहरुले कामदारहरुको नामबाट एनसेलको सीम निकालेर चलाउने गरेका छन् । त्यस्ता सीम कार्ड प्रयोग गरेर चोरीतस्करीदेखि विभिन्न अवैध धन्दाको कारोबार हुने गरेको स्रोतले उल्लेख गरेको छ ।
त्यसबाट विचौलियाहरुले कर्मचारी र नेताहरुलाई गुमराहमा पार्ने र ठूला–ठूला होटेलमा डिल गर्ने गरेको स्रोतको दावी छ । त्योसँगै सिंहदरको गेटमै सञ्चालित होटेल बसेरामा उच्च तहका कर्मचारी, नेता, मन्त्री र विचौलियाहरुको राजनीतिक भेटघाटदेखि कमिसन लेनदेनको डिल हुने गरेको बताइन्छ । गुप्तचर विभाग अगाडि रहेको होटल बसेरामा चोरीतस्करीदेखि विभिन्न अवैध धन्दा सञ्चालन गर्ने डिल हुँदासमेत असम्बन्धित निकाय बेखबर बनेर बसिरहेको छ । सिंहदरबारको गेटै अगाडी अग्लो होटेल बनाउनु सुरक्षाको दृष्टिकोणले त्यत्तिकै खतरा मानिन्छ । तर राजनीतिक दलका नेता र सम्बन्धित निकायले त्यतातिर ध्यान दिन सकेका छैनन् ।