नेपालको राष्ट्रिय गानमाथि प्रश्नचिन्ह खडा !

राजनीति समाचार

रामचन्द्र बस्नेत
पछिल्लो समय नेपालमा कुनै दलले बहुमत ल्याउन नसकेपछि सरकार बनाउने र ढाल्ने खेल सुरु हुँदै आएको थियोे । पटक–पटक सरकार फेरबदल हुँदा मुलुकमा विकास निर्माणका कामहरु पनि अलपत्र पर्दै गएका थिए । त्यसको विकल्पमा कांग्रेस र एमाले दुई ठूला दल मिलेर स्थिर सरकार बनाउने र आवश्यकता परे अनुसार संविधान संशोधन गर्ने, आर्थिक समृद्धि कायम गर्ने, विकास निर्माणका काम अगाडि बढाउने र सुशासन कायम गर्ने प्रतिवद्धतासहित एमाले र कांग्रेस मिलेर सरकार बनाएका थिए ।

एमाले–कांग्रेस सरकारको चार वर्षे कार्यकालको लागि दुई वर्ष एमालेको नेतृत्वमा र दुई वर्ष कांग्रेसको नेतृत्वमा सरकार चलाउने सहमति भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेस र एमाले सरकार बनेको वर्ष दिन हाराहारी हुँदैछ । सरकार गठन भएको वर्षदिन पुग्नलाग्दा संविधान संशोधनको बारेमा कुनै एजेन्डा तय गरिएको छैन । संविधानका कतिपय विवादित धाराहरुले सरकार सञ्चालनमा समस्या सिर्जना भइरहेको छ । संविधान संशोधनको विषय उठान नहुँदा कतिपय संविधानका धाराहरुमा विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् । २०६२÷६३ सालको लोकतान्त्रिक आन्दोलनले निरंकुश राजतन्त्र समाप्त भएको घोषणा गरेसँगै राष्ट्रिय गान पनि परिवर्तन गर्ने निर्णय भएको थियो । पुरानो राष्ट्रियलाई विस्तापीत गरेर नयाँ राष्ट्रिय गान लेखनको लागि विभिन्न लेखक, साहित्यकारहरुलाई आह्वान गरिएको थियो ।

राष्ट्रिय गान छनोट कार्यदलले गठन गरिएको राष्ट्रिय गानमा १२ सय ९२ वटा रचनाहरु संकलन भएका थिए । सो मध्येबाट ब्याकुल माहिलाले सिर्जना गरेको ‘सयौं थँुगा फूलका हामी’ शीर्षकको राष्ट्रिय गान छनोट भएको थियो । सो राष्ट्रिय गानलाई नेपालको संविधान २०७२ ले आधिकारिक रुपमा मान्यता दिएको थियो । तर, उक्त राष्ट्रिय गानमा समेटिएका कतिपय शब्दहरु संशोधन गर्नुपर्ने आवाज उठ्न थालेको छ । संविधान संशोधनको अन्य एजेन्डासँगै राष्ट्रिय गानमा समेटिएका केही शब्दहरु पनि संशोधन हुनुपर्ने बहस चल्न थालेको छ । नेपालको संविधान २०७२ जनताको प्रतिधिमुलक संस्था संविधान सभाबाट निर्माण भएको हो । जननिर्वाचित प्रतिनिधिको बहस, छलफलबाट बनेको संविधान भए तापनि कतिपय धारा र बुँदाहरु असहज रहेको देखिन्छ । संविधान संशोधनको चर्चा चलिरहँदा संशोधन वा परिवर्तनको लिष्टमा छुट्न नहुने विषय राष्ट्रिय गान पनि एक हो ।

राष्ट्रिय गानमा समेटिएका शब्द र वाक्यमा औपचारिक रुप दिई संविधानको धारा ९ (१) बमोजिम अनुसूचि २ मा राखिएको छ । संविधानको अनुसूची २ मा राखेर औपचारिकता र वैधानिकता दिने गरी नेपालको तर्फबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा गाइने नेपालको राष्ट्रिय गानमा प्रयोग भएका केही शब्द र वाक्यहरु आपत्तिजनक भएकाले त्यसको परिवर्तन गर्न आवश्यक देखिन्छ । त्यसलाई संविधान संशोधनको चर्चा चलिरहेको समयमा छलफलमा ल्याउनुपर्ने भएको छ । जस्तो सयौं थुँगा फूलका हामी एउटै माला नेपाली, सार्वभौम भई फैलिएका मेची–महाकाली । प्रकृतिका कोटीकोटी सम्पदाको आँचल, वीरहरुका रगतले स्वतन्त्र र अटल । भन्ने शब्द र वाक्यको अर्थ नेपालीहरुलाई कसैले धागोमा गाँसी दिएको बोटबाट टिपिएका मरिसकेका प्राण नभएका फूलका मालाको रुपमा चित्रण गरिएको छ । हामी नेपाली नेपाल नामको फूलबारीमा फुलेका फूल हौं ।

कसैले बोटबाट टिपेर मालामा उनी दिएको प्राण बिनाका थुँगा होइनौं । त्यसैगरी सार्वभौम शब्दको अर्थ सर्वोच्च शक्ति भएको अथवा पूर्ण रुपमा स्वतन्त्र भन्ने हुन्छ । यस मानेमा धागोमा कसैले उनी दिएको बोटबाट टिपिएका अलग भएका मरिसकेका प्राण नभएका फूलका थुँगा सार्वभौम छन् भन्ने कुरा सार्थक हुन सक्दैन । अर्को पक्ष संविधानको धारा ४ (२) ले नेपालको क्षेत्र निर्धारण गरी सीमानालाई खुल्ला राखेको छ ।

तर, राष्ट्रिय गानले सीमानालाई मेच–महाकालीबाट वरपर सर्न नपाउने गरी बन्देज गरेको भाव प्रकट हुन्छ । त्यसले पनि यो संविधानको मर्म र भावना विपरीत भएको देखिन्छ । यति मात्रै होइन राष्ट्रिय गानमा प्रयोग भएको आँचल शब्दको अर्थ सारीको छेउ÷फेरमा हुने बुट्टालाई बुझाउँछ । अर्को रगत भन्ने शब्दले हिंसाको संकेत गरेको छ । यस्ता शब्द र वाक्य प्रयोग गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा छातीमा हात राखेर गाइने राष्ट्रिय गानबाट राष्ट्रको प्रतिनिधित्व हुनु भनेको नेपाली जनताको अपमान र नेपाल राष्ट्रको अवमूल्यान भएको महसुस हुन्छ । त्यसैले नेपालको राष्ट्रिय गान परिवर्तन गर्न आवश्यक देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *