स्थानीय तहमा तीनै तहको सरकारको हस्तक्षेप

राजनीति समाचार

काठमाडौं । तीन तहको सरकार सञ्चालनमा आएपछि तिनीहरुको कार्यदिशा र विकास निर्माणको खाका छुट्टाछुट्टै हुनुपर्ने हो । तर, तीनै तहका सरकारले एकले अर्काको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरिरहेका छन् । कार्यक्षेत्रभित्र हस्तक्षेप मात्रै गरेका छैनन् त्यसभित्र विभिन्न समिति बनाउने, प्राधिकरण गठन गर्ने गरेर संघीयताविपरीत काम गरिरहेका छन् । एउटै काममा तीन तहका सरकारले हस्तक्षेप गरेपछि ढिलासुस्ती हुने र लागत बड्ने गरेको छ । त्योसँगै केन्द्रीय सरकारको मातहतमा रहेका अधिकांश मन्त्रालयहरुमा विभिन्न समिति र आयोग गठन गरेर राज्यदोहन गरिरहेका छन् ।

ती आयोग र समितिले आफूखुसी काम गर्ने गरेका छन् । त्यसले गर्दा पनि तीनै तहको सरकार भ्रष्टाचारमा लिप्त भएको देखिन्छ । भ्रष्टाचारमा मात्रै लिप्त भएको छैन, विभिन्न विकास निर्माणको बजेट दुरुपयोग हुने र बेरुजु बढेर जाने गरेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०८०÷८१ लेखा परीक्षणको प्रतिवेदनमा अधिकांश स्थानीय तहमा बेरुजुको चाङ बडेको देखाएको छ । स्थानीयसँगै प्रदेश र संघ सरकारमा पनि बेरुजु ह्वात्तै बडेको छ ।

राजनीतिक दलका नेता, जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता मञ्चहरुको लापरबाहीले गर्दा वर्षेनी बेरुजुको चाङ थपिँदै गएको छ । तीनै तहका सरकारमा व्यापक बेरुजुको चाङ बडिरहँदा राजनीतिक दल र कर्मचारीहरुले त्यसको न्यूनिकरण गर्न कुनै पहल कदमी गरेको पाइँदैन । केही महानगरपालिका, नगरपालिका र गाउँपालिकाले राम्रो काम गरेको हल्ला फैलाए तापनि त्यो अनुसारको काम भएको पाइँदैन ।

त्यसको उदाहरण लिन सकिन्छ काठमाडौं महानगरपालिकालाई । काठमाडौंमा फोहोर व्यवस्थापन र वृक्षारोपणबाहेक अन्य विकास निर्माणका नयाँ काम भएको पाइँदैन । गरिएका केही काम पनि पुरानै ढर्रार र शैलीमा भइरहेका छन् । काठमाडौं महानगरपालिकाभित्र मेयर बालेन शाहकै कारण वडाअध्यक्षहरु रुष्ट बन्न पुगेका छन् । दलबाट निर्वाचित वडाअध्यक्षहरुलाई मेयर शाहले सधैं पाखा लगाउने गरेका छन् ।

वडाअध्यक्षसँगै एमालेबाट निर्वाचित उप–मेयर सुनिता डंगोलको मेयर शाहसँग पानीबाराबारको स्थिति सिर्जना भएको छ । उता, मेयर शाहकै कारण तीन महिनासम्म प्रमुख कार्यकारी अधिकृत नहुँदा दैनिक कार्यसम्पादन ठप्प हुनुको साथै कर्मचारीले तलबसमेत खान पाएका थिएनन् । त्यसको असर अहिले काठमाडौं महानगरपालिकाभित्र परिरहेको छ । काठमाडौं महानगरपालिकाको तुलनामा आसपासका नगरपालिकाहरुले भ्रष्टाचार गरे तापनि भौतिक संरचना निर्माण गरेर देखाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *