काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ मा आफ्नो पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्नेगरी अघि बढेको बताएका छन् ।
अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन उद्घाटन सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले अबको १३ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्वप सुम्पिने र त्यसपछि मिसन ८४ मा लाग्ने बताएका छन् । प्रधानमन्त्री ओलीले मिसन ८४ भनेको नेकपा एमालेलाई निर्णयक शक्तिको रुपमा विकास गर्नु मात्र नभएर यसलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने गरी अघि बढ्ने समेत बताएका छन् ।
ओलीले विद्यार्थी आन्दोलन र खासगरी अनेरास्ववियुको अगुवाइमा २०३६ सालमा जनमत संग्रहको घोषणा गर्न बाध्या बनाउने यही संगठन भएको र आफूहरुले नै देशमा साँच्चैको लोकतन्त्र र गणतन्त्र ल्याउन बलिदान गरेको स्मरण गरेका थिए । उनले यस गणतन्त्रको रक्षा, सुदृढ र गतिशील तुल्याउन विद्यार्थीका नाममा तोडफोड, कुटपिट, शिक्षालयमा आगजनी र तालाबन्दी गर्ने खालका हिंसात्मक क्रियाकलापका लागि अनेरास्ववियुका लागि छुट नहुने बताउँदै उनले यस संगठनलाई परिवर्तनकारी, सभ्य र जिम्मेवारी संगठनका रुपमा रहन निर्देशन समेत दिएका छन् ।