काठमाडौं । भोजपुरको षडानन्द नगरपालिका तीनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा जुटेका छन् ।
चिराइतोबाट मकै, आलुलगायत बालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि उनीहरु चिराइतोखेतीमा जुटेका हुन् । तीनतले क्षेत्रका किसानले चिराइतो बिक्रीबाट एकपटकमा न्यूनतम एक लाख ५० हजारदेखि १२ लाखसम्म आम्दानी लिने गरेको स्थानीय किसानले जानकारी दिएका छन् । चिराइतो बिक्रीबाट औसतमा वार्षिक चारदेखि सात लाख रुपैयाँसम्म आम्दानी लिने गरेका छन् ।
पछिल्लो समय चिराइतोमा बोट सुक्ने, जरा कुहिने रोगको समस्या देखिन थालेको व्यवसायीले बताएका छन् । राज्यको तहबाट रोग कीरा नियन्त्रण सहयोग भएमा किसानले अझ राम्रो आम्दानी हुन सक्ने किसानहरुको भनाई रहेको छ।
ज्वरो, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुकालगायत रोगका लागि औषधिको रूपमा चिराइतो प्रयोग गर्न सकिने स्थानीयको भनाइ छ । पात, डाँठ, जरालगायत सम्पूर्ण भाग नै प्रयोग गर्न सकिन्छ । यहाँको चिराइतो भारत, चीन र बङ्गलादेशमा निर्यात हुने गरेको व्यवसायीको भनाइ छ ।