भूमिमन्त्रालय सधैं विचौलियाको कब्जामा

राजनीति समाचार

काठमाडौं । भूमि, सहकारी तथा गरिवीनिवारण मन्त्रालय विगत लामो समयदेखि विवादित बन्दै आएको छ । मन्त्रालयमात्रै विवादमा आएको छैन, भूमि अभिलेख विभागका कर्मचारी, मालपोत कार्यालयका कर्मचारी र नापी कार्यालयका कर्मचारीहरु पनि भ्रष्टाचारदेखि विभिन्न काण्डमा मुछिँदै आएका छन् ।

उनीहरुलाई सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरी हिनामिना गरेको, गुठीका जग्गाहरु व्यक्तिको नाममा ल्याएर नामसारी गरेको, मोही र तलसिनको विवादमा घुस लिएको, डोरपास गर्दा अनावश्यक पैसा असुलेको, फिलबुक उतार र कित्ताकाटमा घुस खाएको र जग्गा किनबेच गर्दा लाभकर छली गरी आर्थिक लाभ लिएकोलगायतका मुद्दा लाग्ने गरेको छ ।

यस्ता विवादमा फस्न थालेपछि कुनैताका राम्रो छवी भएका कर्मचारीहरु मालपोत र नापी कार्यालयमा जान अटेर गर्दै आएका थिए । तर, पछिल्लो समय नापी र मालपोत कार्यालयमा जानको लागि विभिन्न शक्तिकेन्द्र धाउने र पैसा खर्च गर्ने कर्मचारीको ताँती लाग्न थालेको छ । शक्तिकेन्द्र र पैसा प्रयोग गरेर मात्रै मालपोत र नापी कार्यालयमा जान नसकेका कर्मचारीहरुले विचौलिया प्रयोग गर्ने गरेका छन् । तिनै विचौलियाको आडमा कर्मचारीहरु नापी र मालपोत कार्यालयमा गएर अकुत सम्पत्ति आर्जन गर्न सफल भएका छन् । त्यो पनि महंगा जग्गा भएको काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, चितवन, भैरहवा, विराटनगर र झापा जस्ता शहरी इलाकाका मालपोत र नापी कार्यालयमा जानको लागि कर्मचारीहरु न्वारनदेखिको बल निकालेर लागिपर्ने गर्दछन् ।

यस्ता ठाउँमा पुगेपछि भूमाफियासँग मिलेमतो गरी सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएर हडप्ने गरेका छन् । त्यसको लागि राजनीतिक दलका नेता, सम्बन्धित मन्त्रालयका उच्चपदस्थ कर्मचारी, सम्बधित शाखाका प्रमुख, भूमाफिया, विचौलिया एवं मालपोत र नापी कार्यालयका लेखनदासहरुको मिलेमतो हुने गरेको छ । यिनै विचौंलियाहरुले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेर राज्यदोहन गरिरहेको पाइन्छ । त्यसको गतिलो उदाहरण बनेका छन् विचौलिया प्रमोद खड्का । यिनै खड्को डिजाइनमा सो मन्त्रालयका मन्त्रीदेखि सचिवसम्म चल्ने गरेका छन् ।

भूमाफियाको पहुँच मन्त्रीदेखिसचिवसम्म पु¥याउने काम यिनै विचौलिया खड्काले गर्दै आएको स्रोतको भनाइ छ । नापी र मालपोतका शाखा अधिकृत, नासु र खरिदार चाहीं विचौलिया खड्काको पछिलाग्ने काम गर्दछन् । त्यसको अर्को उदाहरण लिन सकिन्छ, ललितपुर मालपोत कार्यालयमा कार्यरत नासु डम्बर कार्की र प्रदीप पौडेललाई । नासु कार्की र पौडेलबीच सरकारी जग्गा हिनामिना गरी लिएको घुसकाण्डले सिमा नाघेपछि पौडेलविरुद्ध सर्वोच्चमा रिट परेको थियो । नासु पौडेलविरुद्धको रिट सर्वोच्चमा विचारधिन अवस्थामा छ भने नासु कार्कीलाई संघीय मामिलामन्त्रालयमा तानिएको थियो ।

ललितपुर मालपोतमा बसेर तरमार्न पल्केका कार्की संघीय मामिलामन्त्रालयमा तानिएपछि उनै विचौलिया खड्कालाई प्रयोग गरेर फेरि भक्तपुर मालपोत कार्यालयको मुद्दामा फाँट पुग्न सफल भएका थिए । कार्कीले भक्तपुर मालपोत कार्यालयमा तरमार्न थालेको पनि एक वर्ष नाघिसकेको छ । कार्कीले भक्तपुर मालपोतको मुद्दा फाँटमा बसेर तलसिन र मोही जुधाउने र बार्गेनिङ गर्ने काम गर्दै आएका छन् । मुद्दा फाँटमा रहेका नासु कार्कीको योजना अनुसार अन्य कर्मचारीहरु चल्ने गरेको स्रोत बताउँछ । दिउसो अफिसमा आलटाल गरेर झुलाउने र बेलुका राधेराधे स्वीटमा तलसिन, मोही र भूमाफियालाई बोलाएर मोलमोलाई गर्ने गरेको स्रोतको दावी छ । यस विषयमा तामाकोशी सन्देश प्रतिनिधिले कार्कीको मोबाइल नम्बर ९८५२०००४४४ मा फोन गरी जानकारी लिन खोज्दा सम्पर्कमा आउन चाहेनन् । कार्कीले आफूविरुद्ध लाग्ने कर्मचारीलाई तिनै विचौलिया खड्कालाई प्रयोग गरी अन्यत्र सरुवा गराउने र आफ्नो धन्दा चलाउने काम गर्दै आएको श्रोत बताउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *